काठमाडौं – दक्षिण भारतको केरला राज्यमा शुक्रबार साँझ दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स फेला परेको छ । भारतका उड्डयन मन्त्री हरदिप सिंह पुरीले शुक्रबार साँझ दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स फेला परेको बताएका हुन् ।
क्यालिकट विमानस्थलमा अवतरणका क्रममा दुबईबाट आएको विमान दुई टुक्रा हुनेगरी भएको उक्त दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो ।
शनिवार दुर्घटनास्थलको भ्रमण गरेका मन्त्री पुरीले उडानका विवरणहरू रहने फ्लाइट डेटा रेकर्डर र विमानचालकबीच हुने संवाद रेकर्ड हुने ककपिट भ्वाइस रेकर्डर फेला परेको जनाउँदै अनुसन्धानका लागि ती महत्त्वपूर्ण हुने बताए ।
कोरोना महामारी फैलिएपछि यूएईमा अलपत्र परेका भारतीय नागरिकहरूलाई लिएर आएको एअर इन्डिया एक्सप्रेसको उक्त विमानका दुवै चालकको दुर्घटनामा ज्यान गएको छ । अहिले १५० भन्दा बढी यात्रुहरू अस्पतालमा छन् ।
बीबीसीका अनुसार उक्त बोइङ ७३७ विमान धावनमार्गमा चिप्लिएपछि दुर्घटना भएको थियो । तर दुर्घटनाको कारण अझै स्पष्ट नभएको मन्त्री पुरीले बताए ।