(पाँचथर) – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको प्रक्रिया टुंग्याउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीच असमझदारी नरहेको बताएका छन् । पाँचथरको फिदिममा कार्यकर्ता प्रशिक्षणमा सहभागी हुन पुगेका अध्यक्ष प्रधानमन्त्री र आफूबीच कुनै मत भिन्नता नरहेको बताएका हुन् ।
माथिदेखि तलसम्म पार्टीको एकता प्रकृया टुंग्याउँदै अगाडि बढ्ने सन्दर्भमा केही ढिलाई भइरहेको स्वीकार्दै त्यसमा दुई अध्यक्ष बीचको मत भिन्नता कारक नरहेको स्पष्ट पारे । पार्टी एकताका सन्दर्भमा रहेका दुविधा सबै पक्षले मिलेर हटाउन आवश्यक गृहकार्य तथा संवाद भईरहेको जानकारी दिंदै उनले नमिलेका विषय महाधिवेशनसम्म पुग्दा आफैं मिल्ने बताए ।
पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले दुई अध्यक्ष बीचको सम्वन्धका विषयमा बेला बखत मिडियाले खोतलिदिएको उल्लेख गर्दै भ्रममा नपर्न आग्रह गरे । एकता प्रकृयाका सन्दर्भमा नमिलेका विषयमा सोमबार मात्रै आफू, प्रधानमन्त्री र संसदीय उपनेता सुवास नेम्वाङबीच छलफल भएको भएको बताए ।
अर्को प्रसंगमा अध्यक्ष दाहालले शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउन सरकार र प्रतिपक्षी दलबीच आवश्यक छलफल भईरहेको बताए । द्धन्दकालिन मुद्दाको चाँडै टुंगो लाग्ने पनि उनले बताए ।