काठमाडौं – काग तिहारको दिन बुधबार बिहानै ‘२१औँ काग सम्मेलन’ गरिएको छ । विभिन्न जीवजन्तुको दुरुस्त आवाज निकाल्न पोख्त कलाकार रमेश दुलाल (कागे)ले विगतका वर्षहरूमा झैँ यो वर्ष पनि कागहरूलाई भेला गराएर सम्मेलन सम्पन्न गरेका हुन् ।
राष्ट्रिय सङ्गीतकर्मी सङ्घ, केन्द्रीय समिति तथा ग्रीनसिटी अस्पताल बसुन्धाराको सहआयोजनामा राजधानीको नारायणहिटी अगाडि भएको उक्त सम्मेलनमा उनले कागको जस्तै आवाज निकालेर सयौँ कागलाई भेला गराएका थिए ।
उनले कागको आवाज निकालेर कागलाई बोलाउन थालेपछि नजिक सयौँ काग आएका हुन् । ‘विगत वर्षमा झैँ यो वर्ष पनि सम्मेलन गरेर कागलाई भेला गराउन सफल भइएको छ। यो मेरो २१ औँ काग सम्मेलन हो’, दुलालले भने।
उनले आज बिहान पौने ६ बजे आयोजित उक्त सम्मेलनमा १ हजारको हाराहारीमा कागलाई भेला गराइएको समेत बताए ।
दुलालले आफूले कागसहित १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने सक्ने बताए । दुलालले कागबाहेक मुखैले मादल, सनाई, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा, गितारको धुनसमेत निकाल्छन् । गाई, भैँसी र अन्य चराचुरुङ्गीको आवाज पनि दुरुस्तै सुनाउँदै आएको दुलालले बताए ।