सुमना ‘एक व्यक्ति, एक पद’ भन्दै राजीनामा दिने, रास्वपा भने दोहोरो जिम्मेवारी हुने गरी इन्चार्ज तोक्ने

63

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहमहामन्त्री सुमना श्रेष्ठले ‘एक व्यक्ति, एक पद’को नीति सम्झाउँदै पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिएकी छन्।

यसबारे राजीनामा पत्रमा उनले लामै व्याख्या गरेकी छन्। ‘पदको लालसा नेपालका पुराना पार्टी र अझ भन्नुपर्दा नेपाली समाजमै गढेको एक प्रथा हो। सङ्घीय सांसद हुँदा मैले पार्टीको अर्को महत्त्वपूर्ण जिम्मेवारी लिदाँ पद नभई केही गर्न सकिन्न भन्ने सन्देश जान्छ, जुनसँग मेरो गहिरो विमति छ। अन्य पार्टीभन्दा हामी भिन्न भन्ने तर, रवैया उस्तै रहने मेरो लागि स्वीकार्य छैन,’ उनले भनेकी छन्।

‘एक व्यक्ति, एक पद’को नीति सम्झाउँदै सुमनाले दुई हप्ता अगाडि नै पार्टी सभापति रवि लामिछानेलाई राजीनामा दिएकी थिइन्। तर, अहिले लामिछाने थुनामा छन्। पार्टी सभापति लामिछाने थुनामा गएपछि आफूले आफ्नो राजीनामा रोक्न चाहेको तर, आज एकाएक सार्वजनिक गरेर पार्टीकै कतिपय नेताहरूले ‘मिडिया ट्रायल’ गरेको आरोप सुमनाको छ।

‘दुई हप्ता अगाडि पार्टी सभापति यहीँ हामीसँगै हुनुहुन्थ्यो, मैले त्यहीबेला राजीनामा दिएकी हुँ, त्यो पनि पार्टी सभापतिसँगैको सल्लाहमा। एक/दुई दिनपछि पार्टी सभापति पक्राउ पर्नुभएपछि कार्यवाहक सभापति डीपीजीलाई रोकौँ है भनेको थिएँ,’ उनले भनेकी छन्।

उनको राजीनामाबारे बिहीबार (आज) कार्यवाहक सभापति डोलप्रसाद अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय समितिमा बैठकमा छलफलसमेत भएको छ। त्यसमा अब बस्ने बैठकमा आवश्यक छलफल र निर्णय हुने कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जानकारी गराएका छन्।

तर सुमनाले ‘एक पद, एक व्यक्ति’को नीति सम्झाउँदै दिएको राजीनामाबारे छलफल भएकै बैठकले दोहोरो जिम्मेवारी पर्नेगरी पार्टीका ६ नेतालाई प्रदेश इन्चार्ज तोकेको छ। जसमा कोशी प्रदेशका लागि सन्तोष परियार तोकिएका छन्। जो पार्टीका तर्फबाट प्रमुख सचेतक (सांसद) नै हुन्।

यस्तै मधेस प्रदेशका लागि मनीष झा तोकिएका छन्। उनी सांसद त हुन् नै, सँगै पार्टीका कार्यवाहक प्रवक्तासमेत हुन्। बागमती प्रदेशका इन्चार्ज तोकिएकी लीमा अधिकारी भने केन्द्रीय सदस्य मात्रै हुन्। गण्डकी प्रदेशका इन्चार्ज तोकिएका शिशिर खनाल पनि सांसद हुन्। लुम्बिनी प्रदेशका लागि इन्चार्ज तोकिएका विपिनकुमार आचार्य पार्टी सहमहामन्त्री हुन्।

यस्तै कर्णाली प्रदेशका लागि तोकिएका गणेश पराजुली र सुदूरपश्चिम प्रदेशका लागि तोकिएका हरि ढकाल पनि सांसद नै हुन्। यसरी रास्वपाले ६ नेतालाई दोहोरो जिम्मेवारी हुनेगरी इन्चार्ज तोकेको छ।

समाचार वर्गहरू