काठमाडौ – आगामी जुलाई ३० तरिखमा एनआरएनए जापानको नयाँ नेतृत्व चयन हुने भएसँगै निर्वाचनको प्रचार प्रसार तिव्र रुपमा बढेको छ ।
बिगत लामो समयदेखि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) जापानको विभिन्न समितिमा रहेर निरन्तर काम गर्दै आएका अशोक भट्टराईले एनसीसी सदस्यमा आफ्ना प्रतिवद्धतासहित उम्मेदवारी दिएका छन् ।
एनआरएनए एनसीसी जापानको यही जुलाई ३० तरिखमा हुन गैरहेको अधिवेशन तथा आगामी कार्यकालका लागि नेतृत्व चयनको पूर्वसन्ध्यामा भट्टराईले आगामी दिनमा पनि गैर-आवासीय नेपाली अभियानमा रहेर सेवा गर्ने अवसरका लागि जापानमा रहेका सम्पूर्ण एनआरएन सदस्यहरुलाई एनसीसी सदस्य पदमा निर्वाचित गराई दिन अपिल गरेका छन्।
उनको उम्मेदवारीलाई अन्य आकांक्षी भन्दा बलियो रुपमा एनआरएन जापानमा लिइएको छ । जापानमा रहेको नेपाली समुदायमा परिचित भट्टराई एनआरएन अभियानमा सक्रिय रहनुको अलावा सामाजिक कार्यमा पनि उत्तिकै सफल रहेका छन् ।
उनी जापान जानु अघि नेपालमै पनि विभिन्न सामाजिक कार्यमा संलग्न समेत रहेका थिए । भट्टराईले सिन्धु उत्थान केन्द्र (SUK) नेपाल नामक संस्थाको नेतृत्वमा रहेर नेपालमा निम्न आय भएका नागरिकहरुको जनजविकाको क्षेत्रमा काम गरेका थिए ।
यसरी विभिन्न समयमा विभिन्न पदमा बसेर काम गरेको अनुभवहरुलाई अझ प्रभावकारी ढंगले नेपाल र नेपाली समुदायकै हितमा लगाउने इच्छाकै कारण आफुले एनआरएनए एनसीसी जापानको आगामी कार्यकालका लागि एनसीसी सदस्यमा उम्मेदवारी दिएको भट्टराईले बताए ।
‘अहिलेसम्म एनआरएनए अभियानबाट प्राप्त ज्ञान र अनुभवलाई प्रयोग गर्न तथा नेपाली समुदायले देखाउनु भएको माया र सद्भावलाई आत्मसात गर्दै एनआरएनएको माध्यमबाट केही गर्ने मेरो अभिष्ट पूरा गर्न मैले यो पटक जापानकोतर्फबाट एनसीसी सदस्यमा उम्मेदवारी दिने निर्णय गरेको छु’ । भट्टराई सहयोगको अपेक्षा गर्दै भन्छन् : ‘पहिले जस्तै यहाँहरुको साथ र सहयोगको अपेक्षा गर्दै यही जुलाई ३० गते हुन गैरहेको निर्वाचनमा अमुल्य भोट दिइ मेरो नेपाली समुदायप्रतिको लगाव र समर्पणलाई विजय गराउनु हुनेछ भन्ने कुरामा पुर्ण विश्वास छ ।’
उनले जापानमा फैलिएर रहेका नेपालीहरुलाई साँस्कृतिक, सामाजिक र भावनात्मक रूपमा जोड्न एनआरएनए एनसीसी र आइसीसीबीच संयोजनकारी भुमिका निर्वाह गर्ने बताउँदै समुदायले देखाएको माया र सद्भावलाई आत्मसात गर्दै समुदायकै हितमा आफ्नो आगामी पाइला अघि बढाउने समेत बताए ।
भट्टराईले प्रवासमा नेपाली भाषा संस्कृतिको जगेर्ना र दोस्रो पुस्तामा यसको हस्तान्तरण अहिले आवश्यक भएकाले एनआरएन मार्फत यो अभियान सफल बनाउने बताए । उनी भन्छन् – ‘नेपाली भाषा, कला, संस्कृति जोगाउन एनआरएनएले पहिलो र दोस्रो जेनेरेसन आवद्ध भएर नेपाली भाषा पाठशाला चलाउन आवश्यक छ ।’
भट्टराई यस्ता छन् प्रतिवद्धताहरु :-
- प्रवासमा हुर्कदै गरेका दोस्रो युवा पुस्तालाई नेपालका विभिन्न शैक्षिक एवं अन्य संघ-संस्थाहरुसँग समन्वय गरि उनीहरुमा रहेको सीप एवं अनुभवलाई साटासाट गर्ने वातावरण सिर्जना गर्न पहल गर्नेछु ।
- नेपालबाट श्रम तथा अध्ययनका निम्ति विदेशिने नेपालीहरुको लागि सम्बन्धित देशमा जानु अगाडि र पुगिसकेपछि सो देशको बारेमा सम्पुर्ण जानकारी जस्तै नियम, कानुन अनि पढाई, रोजगारी लगायत आपत–बिपतमा सम्पर्क गर्ने संघ-संस्था वा व्यक्तिको जानकारी एनआरएनएको वेबसाइड र नेपालमा रहेको हेल्पडेस्क मार्फत लिन सकिने ब्यवस्था गर्नेछु ।
- एनआरएनएलाई विशुद्ध नेपाल र नेपालीको हितमा काम गर्ने प्रतिनिधिमुलक सस्था बनाउने र अन्तर्राष्ट्रिय स्तरमा रहेका सम्पुर्ण सामाजिक सस्थाहरुसँग हातेमालो गर्दै अघि बढ्नेछु ।
- एनआरएनएलाई पारदर्शी र यहाँहरु सबैले दिएको प्रत्येक सहयोगको हिसाब किताब छर्लङ्ग राख्ने र देखाउने वातावरण बनाउन पहल गर्नेछु ।
- नेपाल र नेपालीको हितमा एनआरएनएलाई काम गर्ने प्रतिनिधिमूलक सस्था बनाउन पहल गर्नेछु।