एनआरएनएको चुनाव आज, ४२ पदमा मतदान हुने

17

काठमाडौं  – गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि आज काठमाडौंमा निर्वाचन हुँदैछ । संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुन लागेको हो । निर्वाचन कमिटीका सदस्य कुलप्रसाद पाण्डेका अनुसार मंगलबार रातिबाट मनोनयन दर्ता खुल्ला गरिएको छ ।

मनोनयन दर्ता बुधबार बिहान साढे १० बजे सम्म खुल्ला रहने छ । पाण्डेका अनुसार ४२ पदमा मतदान हुने छ । बुधबार विद्युतीय मेशिनबाट मतदान हुने भन्दै मतदान सकिएको एक घण्टामै नतिजा सार्वजनिक हुने उनले दाबी गरे । गैर आवासीय नेपाली संघ ८० भन्दा बढी मुलुकमा फैलिएको दावी गरिए पनि ४९ देशबाट आएका झण्डै २५ सय प्रतिनिधिहरुले नयाँ नेतृत्व चयनका लागि मतदानमा भाग लिँदैछन् । निर्वाचन कमिटी मतदाताहरुको अन्तिम नामावली पनि आजै प्रकाशित गर्ने जनाएको छ ।

गैर राजनीतिक र स्वतन्त्र संस्थाका रुपमा विधानमा परिभाषित गरिए पनि संघमा राजनीतिक प्रभाव हाबी भएको देखिन्छ । च्याप्टर देशहरूमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्ष दल नेपाली कांग्रेसको प्यानल बनाएर निर्वाचनमा होमिएका छन् । राजनीतिक दल निकट रहेका प्रतिनिधिको सम्मेलनमा बाहुल्यता हुने निश्चितप्राय छ ।

च्याप्टर देशमा देखिएको राजनीतिक रङ केन्द्रीय महाधिवेशनमा पनि छर्लङ्ग देखिने भएको छ । एनआरएनको विधान विपरीत दुवै अध्यक्षका प्रत्यासीहरु प्यानल नै बनाएर चुनाव लड्ने भएका छन् । संघको नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य प्यानल सहित चुनावी मैदानमा उत्रिएका छन् ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसको आडमा आचार्यले प्यानल नै बनाएर औपचारिक रुपमा उम्मेद्वारी घोषणा गरेका छन् । अधिवेशन सुरु हुनुभन्दा एक दिन अघि पत्रकार सम्मेलन गरी अध्यक्षका दाबेदार आचार्यले प्यानल नै घोषणा गरेका थिए । आचार्यको प्यानलमा उपाध्यक्षमा डा. केशव पौडेल, नरेन्द्र भाट, मन केसी र रविना थापा छन् । विधानमा उपाध्यक्षमा ५ जना चयन हुने प्रावधान छ । अध्यक्षका प्रत्यासी आचार्य वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् । बेलायतमा बसोबास गर्दै आएका आचार्य रेष्टुरेन्ट व्यवसायी हुन् । उनले नेपालमा जलविद्युतको क्षेत्रमा लगानी गरेका छन् ।

अध्यक्षका अर्का प्रत्यासी कुमार पन्तले पनि आफ्नो प्यानल घोषणा गरिसकेका छन् । पन्तले निर्वाचनमा लगानीमा योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नागरिकता र मतदानको अधिकार, दिगो संगठन र व्यापक सहभागिता लगायत मुद्दा उठाएका छन् । दुई पटकसम्म उपाध्यक्षमा बनेका जर्मनी निवासी व्यवसायी पन्तले यसपटक अध्यक्षको दाबी गरेका छन् । पन्त समूहलाई नेकपा निकटका रुपमा चिनिँदै आएको छ । पन्त समूहबाट ५ उपाध्यक्षमा डा. बद्री केसी (रसिया), हिक्मत थापा (अफ्रिका), सोनाम लामा (अमेरिका), अर्जुनकुमार श्रेष्ठ (बेल्जियम) र धर्मराज अधिकारी (अष्ट्रेलिया) छन् ।

समाचार वर्गहरू