एनपीएल – जनकपुरलाई हराउँदै काठमाडौं पाँच विकेटले विजयी

84

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले पाँच विकेटको जितेको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंकशालामा सम्पन्न खेलमा जनकपुरले दिएको १३१ रनको सामान्य लक्ष्य काठमाण्डूले १८ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो ।

काठमाडौंको जितमा ओपनर बेन चार्लेस्वर्थले सर्वाधिक ४६ रन बनाए । उनले २३ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । यस्तै, अर्का ओपनर आकाश त्रिपाठीले ३९ रन थपे । यी दुईले पहिलो विकेटका निम्ति ८.१ ओभरमा ७० रनको साझेदारी गर्दै काठमाण्डूलाई बलियो सुरुआत दिलाएका थिए ।मिलिन्द कुमारले १९ र जोन सिम्पसनले १३ रन थपे । आदिल आलम आठ र गेरहार्ड इरास्मस एक रनमा अविजित रहे ।

जनकपुरका कप्तान अनिल साह, किशोर महतो, ललित राजवंशी र सञ्जय कृष्णमूर्तिले समान एक–एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङमा आएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३१ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जनकपुरका ओपनर आसिफ सेखले सर्वाधिक ५४ रन बनाए । आसिफले ४१ बलमा ६ चौका र एक छक्का प्रहार गरेका थिए ।

बलिङतर्फ काठमाण्डूका मिलिन्द कुमारले सर्वाधिक तीन विकेट लिए । मिलिन्दले चार ओभरमा १५ रनमात्र खर्चिए ।करण केसी, साहब आलम र सन्तोष यादवले पनि समान एक–एक विकेट लिए ।

जनकपुरले अब आगामी सोमबार विराटनगर किंग्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यता, काठमाण्डूले भने आगामी बुधबार सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

समाचार वर्गहरू