एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबलमा नेपाल च्याम्पियन

15

(काठमाडौं) – नेपाली महिला भलिबल टोली एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियन बनेको छ ।

बिहीबार बंगलादेशको ढाकामा भएको फाइनलमा मालदिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो । प्रतियोगिताभर अपराजित रहेको नेपाली महिला टोलीले खेलेका सबै सेट आफ्नो पक्षमा पार्‍यो ।

दक्षिण एशियाली खेलकुद सागमा तीन कास्य जिते पनि महिला टोलीले उपाधि जितेको यो पहिलो अवसर हो । शहिद शुरवार्दी इन्डोर हलमा भएको फाइनलमा नेपालले पहिलो सेटमा केहीबेर पछि परेपनि उत्कृष्ट पुनरागमन जनाएको थियो ।

४–७ ले पछि परेको अवस्थालाई उल्ट्याउँदै नेपालले २५–१३ ले सेट जितेको थियो । दोस्रो र तेस्रो सेटमा नेपालले सहज जित दर्ता गरेको थियो । दोस्रो २५–१२ र तेस्रो २५–८ ले जित्दै टोलीले ऐतिहासिक सफलता आत्मसात गर्‍यो । त्यसअघि तेस्रो स्थानका लागि आजै भएको स्पर्धामा किर्गिस्तानले घरेलु टोली बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो ।

अंकबिहीन अफगानिस्तान पाँचौ स्थानमा पुछारमा रह्यो । यसैबीच, विधागत उत्कृष्टतामा पनि नेपाली खेलाडीको वर्चश्व रह्यो । नेपाली महिला राष्ट्रिय टोलीकी स्पाइकर प्रतिभा मालीले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट स्पाइकरको अवार्ड जितिन् ।

त्यस्तै नेपालकी सलिना श्रेष्ठ प्रतियोगिताको उत्कृष्ट लिबेरो, किर्गिस्तानकी मदिना किर्लान उत्कृष्ट सेटर र बंगलादेशकी बिठी उत्कृष्ट ब्लकर घोषित भइन् ।

समाचार वर्गहरू