रासस/रुपन्देही – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) आयोजना नेपालको हितमा रहेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं ५ ले आज मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष थापाले एमसिसी देशको हितमा रहेपनि नागरिकमा अनेक आशङ्का पैदा भएकाले सरकारले आधिकारिक धारणा बाहिर ल्याउनुपर्ने बताए ।
“सम्झौताप्रति भ्रम उत्पन्न भएको छ, त्यो चिर्ने काम सरकारले गर्नुपर्छ,” उनले भने । एमसिसी संसद्मा पारित हुने विषय ठूलो नभएपनि आधिकारिक धारणासहित कार्यान्वयनमा लैजानुपर्ने उनको धारणा छ ।
अध्यक्ष थापाले नागरिकको अपेक्षाअनुसार सरकारले काम गर्न नसकेपनि पाँच वर्षसम्म कायमै रहने बताए । “विगतमा अस्थिरताबाट जनता वाक्क भएका छन् । सरकार ढाल्ने कुरामा जनताको रुचि छैन”, अध्यक्ष थापाले भने, “जनतालाई स्थिर सरकार चाहिएको छ ।”
विगतको निर्वाचनमा भोग्नुपरेको पराजयबाट पाठ सिकेर कमजोरी हटाउँदै पार्टीलाई देशको अग्रणी संस्थाको रुपमा अघि बढाउने अभियानमा लागेको बताउदै अध्यक्ष थापाले पार्टीलाई हिन्दू राज्य र राजसंस्थासँग मात्रै जोडेर नहेर्न आग्रह गरे ।