काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना एमसीसीकाे व्याख्यात्मक घाेषणालाई लिएर नेपाल र अमेरिकाबीच समान धारणा रहेकाे बताएका छन् ।
सोमबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्दै उनले एमसीसीबारे नियोजित रूपमा भ्रम फैलाइए पनि अब त्याे आशंका दूर भएकाे उनले बताए ।
‘एमसीसीबारे नियोजित ढंगले भ्रम छरिएको छ । एमसीसी कुनै देशविरुद्ध प्रयोग हुँदैन,’ प्रवक्ता महतले भने, ‘केही नेताहरूले दोहोरो चरित्र देखाएका छन् । यो विशुद्ध आर्थिक सहायता हो । यति ठूलो आर्थिक सहायता अहिलेसम्म नेपालले पाएको थिएन । अब यसलाई नेपालकाे आर्थिक विकासमा लगाउनुपर्छ ।’
संसद्ले एमसीसीलाई अपनत्व गरेकाे भन्दै त्यसलाई अब सदुपयाेग गर्नेतिर लाग्ने उनले बताए । महतले एमसीसी अनुमाेदन गराउन भूमिका खेल्ने सबै वर्ग र क्षेत्रका मानिसलाई धन्यवाद पनि दिए ।