काठमाडौं – नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन्। मंगलबार सभामुख देवराज घिमिरेले कोइरी निलम्बनमा परेको सूचना टाँस गरेका हुन्।
सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम सांसद कोइरीलाई निलम्बन गरेका हुन्। उनी प्रहरीको फरार सूचीमा थिए। उनी फरार सूचीमा रहेको पत्र सोमबारमात्रै प्रहरीले सभामुखलाई दिएको थियो।
कर्तव्य ज्यान मुद्दामा उच्च अदालत जनकपुरबाट मुलुकी फौजदारी कार्यविधि संहिता अनुसार अनुसन्धान गर्नुपर्ने भन्ने प्रहरी कार्यालयले पठाएको पत्रको आधारमा सभामुखले निलम्बन गरेको सचिवालयका महासचिव भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ।
महोत्तरी १ बाट निर्वाचित एमालेका सांसद कोइरीले चुनाव पनि प्रहरीको फरार सूचीमा भएकै अवस्थामा जितेका हुन्।