काठमाडौं – अध्यक्ष केपी ओलीको तेस्रो कार्यकालका लागि पनि चुनिने ‘चाहना’ र पुनः सक्रिय राजनीतिमा फर्केर एमालेको नेतृत्व सम्हाल्ने पूर्वराष्ट्रपति विद्या भण्डारीको ‘महत्वाकांक्षा’ले दुई पक्षबिच वाक्–युद्ध सुरु भएको छ ।
दुवै पक्षले एक–अर्काको कार्यशैली र नियतमाथि प्रश्न उठाउँदा तथा नेतृत्वको उमेरहदका विषयमा मतभेद देखिँदा पार्टीभित्र ध्रुवीकरण बढ्दै गएको छ । भण्डारी चीन भ्रमणबाट फर्केपछि ओलीसँग वाक्–युद्ध चर्किँदा समर्थक पनि जोडिन थालेका छन् ।
ओली र विद्याबिचको शक्तिसंघर्ष एमालेको आगामी भदौमा हुने भनिएको विधान र ०८२ को अन्त्यसम्म गर्ने लक्ष्य राखिएको नियमित महाधिवेशनमा देखिने उनीहरूनिकट नेता–कार्यकर्ता बताउँछन् । एमालेभित्र आन्तरिक लोकतन्त्र कमजोर रहेको भनिएको वेला सुमधुर सम्बन्ध रहेको मानिएका ओली र विद्याबिचको मतभेदले एमालेको आन्तरिक एकतालाई चुनौती मात्र दिएको छैन, आगामी राजनीतिक परिदृश्य तनावपूर्ण बनाउने जनाउ पनि गरेको छ । झापामा विद्या एमालेकै ब्यानरको कार्यक्रममा सहभागी भएपछि ओली झस्किएका छन् ।
विद्याको सक्रियता, भेटघाट र उनका केही समययताका अभिव्यक्ति पूर्वराष्ट्रपतिको हैसियतमा सीमित नभई एक सक्रिय र नेतृत्वदायी भूमिकामा रहेको राजनीतिज्ञका जस्ता देखिन–सुनिन थालेका छन् । एमालेमा ओलीप्रतिको आक्रोश र असन्तुष्टि विद्यातिर केन्द्रित हुँदै छ । र, यसलाई रोक्न ओलीले एमालेको विधानदेखि परम्परासम्मका उदाहरण दिएर कारबाही हुन सक्ने चेतावनी दिएका छन् । तर, यस्ता चेतावनीबाट विद्या समूह भयभीत छैन, बरु थप संगठित हुने प्रयासमा जुटेको छ ।
पूर्वराष्ट्रपति भण्डारीको सक्रियतासँगै एमालेका नेता–कार्यकर्ता सामाजिक सञ्जालमै पक्ष–विपक्षमा बहस गर्न थालेका छन् ।
पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्वराष्ट्रपति भण्डारीलाई अध्यक्षको आकांक्षा नपाल्न सचेत गराउँदै अन्यथा इतिहासले गिज्याउन सक्छ भनेर टिप्पणी गरेका छन् । ‘विद्या भण्डारीले राष्ट्रपतिको आठवर्षे कार्यकालपछि फेरि सक्रिय दलगत राजनीतिमा फर्किने चाहना राख्नुभएको हो भने उपयुक्त हुँदैन । उहाँ त समग्र मुलुकको अभिभावक हो, नसके सम्पूर्ण वाम आन्दोलनको मार्गदर्शक वा एमालेको अभिभावकको भूमिका निर्वाह गर्नु नै शोभनीय हुन्छ,’ बस्नेतले भनेका छन्, ‘सगरमाथा चढिसकेपछि लिपुलेक चढ्न तम्सिनुजस्तो अवस्था राजनीतिक व्यक्तित्वका लागि लाजमर्दो हुन सक्छ । बेलैमा सोचेर कदम चाल्नु उचित हुनेछ, नत्र इतिहासले गिज्याउनेछ ।’
पूर्वराष्ट्रपति भण्डारीलाई नेतृत्वमा ल्याउनुपर्ने पक्षमा खुलेका स्थायी समिति सदस्य कर्णबहादुर थापाले बस्नेतलाई नै लक्षित गरेर शक्तिको पक्षमा भक्तिभाव देखाउँदै जथाभावी टिप्पणी नगर्न सचेत गराएका छन् । ‘नेपालको राजनीतिक इतिहासमा भीमसेन थापा र जंगबहादुर राणाजति शक्तिशाली मानिस कोही थिएनन्/छैनन् । यी दुवै व्यक्तिको मृत्युुबारे समेत इतिहासकारका अलग–अलग धारणा रहेका छन् । सत्ताको भक्तिमा गीत गाउनेहरू हिजो पनि थिए । आज पनि छन् । सत्ताका सबै शक्तिलाई पराजित गरेर लोकतान्त्रिक व्यवस्था स्थापना भएको हो,’ उनले भनेका छन्, ‘आफ्नो स्वार्थका लागि विवेकशून्य हुनेहरूले अरू विवेकशीलहरूलाई आफ्नो पंक्तिमा उभिएन भनेर तथानाम नगरेको राम्रो हुन्छ । भक्तिभाव गरेर जीवन चलाउनु, पद खानु तर स्वाभिमानी मानिसहरूलाई दास बनाउन बल गरेर समय खेर नफाल्नु । सबै विवेकशील र स्वाभिमानी मानिसहरूको तर्फबाट शालीन निवेदन गर्दछु ।’
अर्का नेता गोकुल बाँस्कोटाले पनि ओलीनिकट विष्णु रिमाल, बस्नेतलगायतलाई लक्षित गर्दै वेलावेला सामाजिक सञ्जालमा कूटनीतिक सन्देशसहित विरोधमा टिप्पणी गर्दै आएका छन् । ओलीले थापा, बाँस्कोटाजस्ता नेताहरूलाई लक्षित गरेर जथाभावी सामाजिक सञ्जालमा लेख्ने गरेको भन्दै प्रतिवाद गर्न अखिलको महाधिवेशनमा नेता–कार्यकर्तालाई निर्देशन दिएका थिए । ‘स्टाटस–सिस्टाटसलाई जवाफ दिनुस्,’ ओलीले भनेका थिए ।
ईश्वर पोखरेलजी पक्कै पनि एक्लै बोल्नुभएको होइन । उहाँकै हाराहारी अन्य नेताहरू पनि पक्षमा हुनुहुन्छ होला । उहाँले उमेरको कुरा मात्र होइन, दुई कार्यकाल कार्यकारी पदमा कोही पनि बस्नुहुँदैन भन्ने धारणा प्रस्ट्याएर ओलीजी दोहोरिन नहुने कुरा गर्नुभएको छ । पूर्वराष्ट्रपतिले अध्यक्षको जवाफ सांकेतिक रूपमा फर्काउनुभएकाले एमालेभित्र नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने पक्षमा ध्रुवीकरणसहित केही न केही जनमत बन्दै गरेको देखिन्छ । नयाँपत्रिका दैनिक