एमालेमा बदलिएको शक्ति सन्तुलन : शक्तिशाली ओली ६ महिनामै अल्पमतमा

54

काठमाडौं – गत मंसिरमा सम्पन्न १०औँ महाधिवेशनबाट आफ्नो पक्षका पदाधिकारीसहित केन्द्रीय कमिटीमा निकट नेताहरूको वर्चस्व गराएका एमाले अध्यक्ष केपी ओली ६ महिनामै भारी अल्पमतमा परेका छन् ।

पार्टी पुनर्गठनको मुद्दासहित बहुमत पदाधिकारी नेतृत्वमा ओलीको विकल्पको पक्षमा उभिएका छन् । महाधिवेशनपछि ओली पहिलोपटक पार्टी कमिटीभित्र स्पष्ट रूपमा अल्पमतमा परेका हुन् । बहुसंख्यक पदाधिकारी राजीनामाका पक्षमा उभिए पनि ओलीले अध्यक्ष पद नछाड्ने अडान दोहोर्‍याएका छन् ।

१९ सदस्यीय पदाधिकारीमा दुईजनाबाहेक सबै आफ्नो पक्षकाले जितेका भए पनि जेन–जी आन्दोलन र गत फागुनको निर्वाचन परिणामलगायत राजनीतिक घटनाक्रमपछि ओली पार्टीभित्र कमजोर बनेका हुन् । ४ जेठबाट सुरु भएर शनिबारसम्म जारी केन्द्रीय सचिवालय बैठकमा २१ फागुनको निर्वाचनको अकल्पनीय हारको जिम्मेवारी लिँदै ओलीले राजीनामा दिएर पार्टी पुनर्गठनको ढोका खोल्नुपर्ने पक्ष र विपक्षमा पदाधिकारीहरू ध्रुवीकरण हुँदा उनी अल्पमतमा परेका हुन् । जेठभित्र बस्ने भनिएको केन्द्रीय कमिटी बैठकमा थप नैतिक दबाब पर्न सक्छ ।

शुक्रबारको बैठकमा पाँचमध्ये चार उपाध्यक्षले पार्टी पुनर्गठनको पक्षमा मत राखेको अर्को दिन शनिबार महासचिव शंकर पोखरेललगायत पदाधिकारीले पनि यथास्थितिमा पार्टी चल्न नसक्ने भन्दै निष्कर्ष सुनाएपछि ओली सचिवालयमा अल्पमतमा परेका हुन् । झन्डै तीन दशकदेखि साथ दिँदै आएका महासचिव पोखरेलले नै नेतृत्वको विकल्प खोज्नुपर्ने मत राखेपछि ओली थप अप्ठ्यारोमा परेका छन् । पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरणपछि एमालेमा ध्रुवीकरण थप पेचिलो बनेको छ ।

१९ सदस्यीय पदाधिकारीमा अहिलेसम्म बोल्ने १४ मध्ये १० पदाधिकारी पुनर्गठनको पक्षमा खुलेका छन् । महासचिव पोखरेलसहित उपमहासचिव योगेश भट्टराई, रघुवीर महासेठ, सचिवहरू छविलाल विश्वकर्मा, हिक्मत कार्की र यामलाल कँडेलले ओलीले मार्गप्रशस्त गरेर पुनर्गठनको ढोका खोल्नुपर्ने धारणा राखेका छन् । शुक्रबार उपाध्यक्ष विष्णु पौडेलसहित चार उपाध्यक्षले पनि त्यस्तै धारणा राखेका थिए ।

उपमहासचिवव लेखराज भट्ट र सचिव पद्मा अर्यालले भने संकटका वेला पार्टी एकतालाई केन्द्रविन्दुमा राख्नुपर्ने भन्दै पुनर्गठनमै जाने हो भने थुप्रै विकल्पकेन्द्रित छलफल गरेर मात्र निष्कर्षमा पुग्नुपर्ने विचार राखे । विपक्षमा उभिएका अध्यक्ष ओलीको विचारलाई उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव महेश बस्नेतले मात्र स्पष्ट साथ दिएका छन् । सचिव बस्नेतले भने अहिलेको अवस्थामा अध्यक्षको विकल्प खोज्ने काम अपराधसरह भन्दै प्रतिरक्षा गरेका थिए । सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारीले भने बोल्न बाँकी छ । उनीहरूले आइतबार बोल्नेछन् ।

तर, बैठकमा महासचिव पोखरेलले पार्टीभित्र पुनर्गठनको आवाज व्यापक बन्दै गएको र परिस्थिति पनि सहज नभएकाले ओलीले मार्गप्रशस्त गर्नुपर्ने बताएका थिए । ‘पार्टी पुनर्गठनको आवाज निकै ठुलो भइसकेको छ । अब आजको यो स्थितिमा पार्टी अघि बढ्न सक्दैन । परिस्थिति सहज छैन । त्यसैले गम्भीर समीक्षा र सुधारसहित अघि बढ्नुपर्छ,’ पोखरेलको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने ।

त्यस्तै, उपमहासचिव योगेश भट्टराईले पनि पार्टीलाई नयाँ गतिसहित अगाडि बढाउन पनि ओलीले मार्गप्रशस्त गर्नुबाहेकको विकल्प नरहेको दोहोर्‍याएका थिए । ‘अब तपाईंबाट पार्टी चल्दैन, राजीनामा दिनुस्,’ भट्टराईको भनाइ थियो, ‘पार्टीलाई थप संकटबाट जोगाउन र नयाँ गति दिनका लागि पनि वर्तमान नेतृत्वले मार्गप्रशस्त गर्नुको विकल्प छैन ।’

ओलीको प्रतिरक्षा गरेका सचिव बस्नेतले संकटपूर्ण अवस्थामा अध्यक्षको राजीनामा माग्नु आपराधिक काम भएको भन्दै प्रतिवाद गरेका थिए । ‘देश र लोकतन्त्र संकटमा छ । यो वेला सबै जुटेर अघि बढ्नुपर्नेमा अध्यक्ष नै नेतृत्वबाट हट्नुपर्छ भन्नु अपराधी सोच हो,’ बस्नेतको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘नेतृत्व फेर्दैमा संकट हल नहुने तथ्य कांग्रेसको विशेष महाधिवेशनबाट पनि देखिएकाले बहकिन हुँदैन ।’

उपमहासचिव भट्टले भने बैठकमा नेतृत्वले राजीनामा गरिहाल्नुपर्छ भन्ने कोणबाट कुरा नउठेको दाबी गरे । ‘शुक्रबारको बैठकको धारणा बाहिर अलिकति अतिरञ्जना बनेर आएको छ । शनिबारको बैठकमा पार्टीभित्र जे समस्या छ, त्यसको समाधान अध्यक्षकै नेतृत्वमा अघि बढ्नुपर्छ भन्ने नै थियो छ,’ भट्टले भने, ‘पार्टीका कमीकमजोरी समीक्षा गरेर जहाँ सच्याउनुपर्ने हो र ज–जसका कमजोरी छन् त्यसलाई स्विकारेर एकताबद्ध ढंगले अगाडि बढ्नुपर्छ भन्ने कुरा आएको छ ।’

बैठकपछि भट्टले बैठकमा अध्यक्ष ओलीले नै सबै नेताहरूलाई खुलस्त ढंगले कुरा राख्न आग्रह गरेको र त्यहीअनुसार नै छलफल चलिरहेको पनि प्रतिक्रिया दिए । ‘जो–जो बोल्नुभयो, उहाँहरूले आफूलाई लागेका विषयवस्तु स्पष्ट रूपमा राख्नुभएको छ । अध्यक्षले पनि खुलस्त रूपमै कुरा राख्न आग्रह गर्नुभएको छ,’ उनले भने । नयाँपत्रिका

समाचार वर्गहरू