एमालेमा ७० वर्षे उमेरहदकायम गर्न भण्डारीको अडान

115
फाइल फोटो

काठमाडौं – नेकपा एमालेको विधान महाधिवेशन आउँदो भदौमा हुने तय भइसकेको छ। विधान महाधिवेशन भदौ २० देखि २२ सम्म गर्ने निर्णय भइसकेको अवस्थामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा फर्किने तयारीमा छिन्।

एमालेमा नेतृत्वका लागि ७० वर्षे उमेरहद कायम रहेमा हालका १८ पदाधिकारीमध्ये अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष युवराज ज्ञवाली र उपाध्यक्ष रामबहादुर थापा अर्को महाधिवेशनमा नेतृत्वका लागि उम्मेदवार नै बन्न पाउनेछैनन्।

यस्तो अवस्थामा नेतृत्वका लागि अघि सर्ने मनस्थितिमा भण्डारी छन्। विधान महाधिवेशनबाट पार्टीमा उमेरहद ७० वर्ष कायम गर्ने र मूल नेतृत्वमा दुई कार्यकालभन्दा बढी दोहोरिन नपाउने निर्णय गराएर आफू नेतृत्वमा पुग्ने योजना भण्डारीको छ।

पार्टीमा तेस्रोपटक अध्यक्ष बन्न अवरोध हुने अवस्था देखिएमा ओली विधान महाधिवेशनबाटै अवरोध हटाउने तयारीमा जुट्ने बताइएको छ। उनले यो विषयमा कुनै सार्वजनिक अभिव्यक्ति दिएका छैनन्। ‘भदौ २० देखि २२ सम्म हुने विधान महाधिवेशनले यसबारे निर्णय लिनेछ,’ ओलीनिकट एक पदाधिकारीले भने।

पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई भेटेर आफू एमाले राजनीतिमा सक्रिय हुने बताइसकेकी छन्। उनले मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा ओलीलाई भेटेर एमालेमा आफ्नो पसिना बगेको र लामो समय योगदान रहेको बताउँदै पार्टी राजनीतिमा सक्रिय हुने चाहना व्यक्त गरेकी हुन्। ‘उहाँहरूबीच डेढ घण्टा कुराकानी भयो, विद्या भण्डारीले पार्टी राजनीतिमा आउने स्पष्ट भन्नुभयो। अध्यक्षज्यूले सल्लाह गरौंला, दुईवटा समूह बनाउनुहुँदैन मात्र भन्नुभयो,’ भण्डारी निकट एक नेताले भने।

ती नेताका अनुसार भण्डारीले पार्टीमा देखिएका समस्या समाधान गर्न आफू सक्रिय राजनीतिमा आउन लागेको बताएकी थिइन्। ‘पार्टीभित्र धेरै असन्तुष्टि छन्, निश्चित तहमा बसेर असन्तुष्टि हटाइनुर्छ, पार्टी कार्यकर्तालाई सधैं असन्तुष्ट बनाएर नेतृत्वमा बस्न पनि अनुपयुक्त हुन्छ,’ भण्डारीलाई उद्धृत गर्दै ती नेताले भने। अध्यक्ष ओलीले पार्टीभित्र दुई नेतालाई देखाएर खेल्न खोज्नेहरू सक्रिय भएको पनि बताएका थिए। एमालेभित्र उमेरहदको विषय यतिखेर चर्चाको शिखरमा छ। विधान महाधिवेशनबाट ७० वर्षे उमेरहदबारे एमालेले कस्तो नीति लिन्छ भन्नेमा पार्टीभित्रै धेरै चासो छ। ७० वर्षे उमेरहद लागु भए एमालेबाट ओलीसहित पाँच नेता एकसाथ बिदा हुनेछन्। त्यसपछि स्वतः दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण हुनेछ। त्यही दोस्रो पुस्ताको नेतृत्व गर्दै भण्डारी पार्टी राजनीतिमा आउन लागेको एमालेका केही नेताको बुझाइ छ। भण्डारी ६४ वर्ष उमेरमा हिँडिरहेकी छिन्।

यतिबेला एमालेभित्र र बाहिरको एउटा समूहले भण्डारीको नेतृत्वमा वाम एकता गर्न सकिने बताइरहेको छ। ‘एमालेभित्रको एउटा पक्ष र एमालेबाहिरको एउटा पक्षले भण्डारीको नाममा वाम एकता हुने सपना बाँडिरहेको छ तर विधान महाधिवेशनअघि ओली र भण्डारीबिच यो विषयमा व्यापक छलफल हुन सक्छ,’ भण्डारी निकट एक नेताले भने। ओली–भण्डारीको भेटले एमाले संगठन पंक्तिमा हलचल पैदा भएको छ । नागरिक

समाचार वर्गहरू