एमालेले प्रदेशका १६९५ नेतालाई तल्लो कमिटीमा फर्काउने

4

काठमाडौं – प्रमुख विपक्षी दल एमालेले माथिल्लो तहका एक हजार सात सय नेतालाई तल्लो कमिटीमा फर्काउने तयारी गरेको छ ।

प्रदेश कमिटीहरूको आकारमा व्यापक फेरबदल गर्दै गैरभौगोलिकसहित आठवटा प्रदेश कमिटीको आकार ६५ प्रतिशतसम्म घटाएर ती नेतालाई जिल्ला हुँदै पालिकासम्म फर्काउने एमालेको रणनीति छ ।

वडा, पालिका, क्षेत्र, जिल्ला हुँदै केन्द्रको अधिवेशन गर्ने लामो अभ्यासमाथि ‘ब्रेक’ लगाउँदै एमालेले प्रदेशबाट अधिवेशन सुरु गरेर जिम्मेवारी नपाउने आधाभन्दा बढी माथिल्ला नेतालाई तल्ला कमिटीमा झार्ने योजना बनाएको छ ।

०७५ मा पार्टी एकताबाट तत्कालीन नेकपा बनेपछि ठूलो आकार देखिने भद्दा तदर्थ कमिटी चुस्त र चलायमान हुन नसकेको निष्कर्षसहित पार्टीलाई ६ वर्षअघिकै अवस्थामा फर्काउन ‘बोल्ड’ निर्णय लिइएको नेताहरूको भनाइ छ ।

यसैअनुसार सबै प्रदेश कमिटीहरूको पहिलो अधिवेशनको मिति तय गरेको छ । दुई महिनापछि सुरु हुने प्रदेश तहको अधिवेशनबाट कम्तीमा एक हजार ६ सय ९५ नेता–कार्यकर्ता प्रदेश कमिटीबाट बाहिरिनेछन् । प्रदेशपछि क्रमशः जिल्ला, निर्वाचन क्षेत्र र पालिका कमिटीहरूको अधिवेशन हुने हुँदा त्यसरी बाहिरिएका तल्लो तहको जिम्मेवारीमा फर्किन सक्ने एमालेको बुझाइ छ ।

सम्पर्क समन्वय कमिटीबाहेक आठवटा प्रदेशमा अहिले एमालेका दुई हजार आठ सय ७४ जना नेता आबद्ध छन् । सबै प्रदेशको अधिवेशन सकिएर नयाँ नेतृत्व चुनिदाँ कमिटीमा एक हजार एक सय ७९ जना मात्र निर्वाचित हुनेछन्, जुन करिब ६५ प्रतिशतभन्दा थोरै हो ।

एमालेले कोसी प्रदेशको अधिवेशन असोज १२ र १३, मधेश प्रदेशको असोज ५ र ६, बागमती प्रदेशको असोज ८ र ९ उपत्यका विशेष प्रदेशको असोज ११ र १२ मा प्रदेश अधिबेशनको मिति तोकेको छ ।

त्यसैगरी गण्डकी प्रदेशको भदौ मसान्तभित्र, लुम्बिनी प्रदेशको भदौ १६ र १७, कर्णाली प्रदेशको भदो २९ र ३०, सुदूरपश्चिम प्रदेशको भदौ २१ र २२ मा प्रदेश अधिबेशन गर्ने एमालेको तयारी छ ।

काठमाडौंमा प्रदेशस्तरीय कमिटीको संरचनामा काम गरिरहेको केन्द्रीय सम्पर्क समन्वय कमिटीको भने अधिवेशन तोकिएको छैन । यद्यपि, आगामी मंसिरभित्र सातवटै प्रदेश सम्पर्क कमिटीको अधिवेशन गर्ने गरी तयारी भइरहेको सम्पर्क समन्वय कमिटीका सचिवालय सदस्य रामप्रसाद रिमालले जानकारी दिए ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू