काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सात जना कम्युनिस्ट योद्धालाई सम्मान गर्ने भएको छ ।
एमाले केन्द्रीय कार्यालयमा सोमबार बसेको सचिवालय बैठकले पार्टी स्थापना दिवसको अवसरमा नेपाली कम्युनिस्ट आन्दोलनको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान गरेका सात जना विशिष्ट व्यक्तित्वहरूलाई कम्युनिस्ट योद्धाका रूपमा सम्मान गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार सम्मान गरिने व्यक्तित्वहरूमा क्रमशः लालबहादुर विश्वकर्मा (कञ्चनपुर), रत्न शर्मा न्यौपाने (मरणोपरान्त), बाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी), शोभाराम बस्नेत (दाङ), हरिचरण शिवाकोटी (झापा) रहेका छन् ।
त्यसैगरी बैठकले तत्कालीन नेकपा (माले) र कोर्डिनेशन केन्द्र पार्टी निर्माणका क्रममा ३४ जना नेता तथा कार्यकर्ताको संस्मरण समेटिएको पुस्तक “सेल्टर” सार्वजनिक गर्ने निर्णय समेत गरेको छ ।
उपमहासचिव ज्ञवालीले सरकार परिवर्तनको कुरा गर्नु भनेको सत्ताप्रतिको आशक्ति मात्र भएको बताए । “अहिले सरकार परिवर्तन न कतैबाट पनि सम्भव, न त कुनै सान्दर्भिकता र न त कुनै औचित्य रहेको छ,” उनले भने ।