एमाले अध्यक्ष ओलीलाइ गृह प्रदेशमै धक्का, विराटनगर महानगरमा इतर पक्षको प्यानलै विजयी

79
फाइल फोटो

काठमाडौं – नेकपा एमाले संस्थापन पक्षलाई पुनः धक्का दिँदै विराटनगर महानगर कमिटीमा इतर पक्षको प्यानलै निर्वाचित भएको छ।

बिहीबार राति सम्पन्न महानगर समितिको निर्वाचनको अन्तिम मतपरिणामअनुसार अध्यक्षमा बलराम गिरी (नवीन) निर्वाचित भएका छन्।

शुक्रबार बिहानका राति सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार प्रतिस्पर्धी प्रतिस्पर्धी रोहित कोइरालालाई ५२ मतान्तरले पराजित गर्दै गिरी अध्यक्षमा निर्वाचित भएका हुन्।

गिरीले १ सय ७३ मत प्राप्त गर्दा कोइरालाले १ सय २१ मत प्राप्त गरे। कोइराला पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन्। गिरी भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिन्छन्।

महानगर कमिटिको उपाध्यक्षमा सुवासप्रसाद न्यौपाने (सुरज) १ सय ४५ मतसहित निर्वाचित भए। निकटतम् प्रतिद्वन्द्वी राम पोखरेलले १ सय ३६ मत प्राप्त गरे।

सचिवमा विज्ञान शर्मा चापागाईं १ सय ८३ मतसहित विजयी हुँदा प्रतिस्पर्धी नवराज काफ्लेले १ सय ४ मत प्राप्त गरेका छन्। यसैगरी, उपसचिवमा हमिद आजाद १ सय ७८ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी चन्द्रशेखर विश्वासले ९८ मत प्राप्त गरे।

महिला उपसचिवमा १ सय ६९ मतसहित हिमा मैनाली पोखरेल निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी प्रेमकला डाँगी (कला)ले १ सय ११ मत प्राप्त गरिन्। एमाले विराटनगरको दोस्रो अधिवेशन पाञ्चालीस्थित पार्टी कार्यालयमा वैशाख २ गतेबाट सुरु भएको थियो।

वैशाख ३ गते सम्म चल्ने भनिएको अधिवेशन एक दिन ढिला गरेर सम्पन्न भएको छ। अधिवेशनका लागि ३ सय १४ जना प्रतिनिधि रहेकामा बिहीबार राति मतदान सम्पन्न हुँदा ३ सय ८ मत खसेको थियो।

यसअघि गत १७ फागुनमा भएको नेकपा (एमाले) मोरङको १० औँ अधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओली निकट समुह पराजित भएको थियो।  पार्टी जिल्ला कमिटिमा पनि ढकाल समुहको प्यानलै निर्वाचित भएको थियो।

कोशी प्रदेशको एक मात्र महानगरपालिका विराटनगरमा इतर पक्षले पार्टी आफ्नो पक्षमा पार्नु र जिल्ला कमिटिमा पनि इतर समुहकै हाबी हुँदा संस्थापन पक्षलाई धक्का लागेको विश्लेषण गर्न थालिएको छ।

समाचार वर्गहरू