काठमाडौं । नेकपा एमाले सचिवालय बैठकले अध्यक्ष केपी ओलीको पक्राउको कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ।
शनिबार बिहान ९ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले ओलीको रिहाइको लागि कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिए ।
उनले सामाजिक सञ्जालबाट पार्टी बैठकले गरेका चार निर्णय सार्वजनिक गरेका छन्। जसमा ओलीलाई तत्काल रिहा गर्न माग गर्दै आम जनसमुदाय, नागरिक समाजलाई साथमा लिएर कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने निर्णय एमाले बैठकले गरेको छ।
एमालेले आज देशका सबै सदरमुकाममा अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ।
त्यसैगरि भोलि चैत १५ गते दिउँसो १२ बजे प्रत्येक जिल्लामा पार्टी कमिटीको आयोजनामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाउनुका साथै लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संबाद र सहकार्य गर्ने निर्णय गरेको छ।त्यसैगरि उसले नागरिक समाज र आम जनसमुदायको सहकार्यमा आन्दोलन अघि बढाउने निर्णय पनि गरेको छ।