एमाले काभ्रेको अध्यक्षमा भुर्तेलको प्यानलै विजयी

22

काठमाडौं – एमाले काभ्रेको अध्यक्षमा राजन भुर्तेल विजयी भएका छन् । बुधबार राति सम्पन्न मतदानपछिको मतपरिणाम अनुसार ३८० मत प्राप्त गर्दै भुर्तेल अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

अध्यक्षका अर्का प्रत्यासी रहेका चन्द्रबहादुर लामाले २९९ मत प्राप्त गरे । यसअघि भुर्तेल एमाले काभ्रेको सचिव थिए भने लामा उपाध्यक्ष थिए ।

पदाधिकारीमा पनि गोकुल बास्कोटाले समर्थन गरेको भुर्तेलको प्यानल नै विजयी भएको छ ।उपाध्यक्षमा देवसागर लामा, सचिवमा राजकुमार सापकोटा, उपसचिवमा रत्नकुश रञ्जितकार र उपसचिव (महिला) मा सुर्यमाया दनुवार निर्वाचित भएका छन् ।

लामाको प्यानलबाट उपाध्यक्षमा आत्माराम थापा, सचिवमा होम चौलागाई, उपसचिव खुल्लामा पुरुषोत्तम अधिकारी र उपसचिव (महिला) मा पवित्रा भुर्तेलले प्रतिस्पर्धा गरेका थिए ।

विद्युतीय मतदानमा ६८६ जना प्रतिनिधि मध्ये ६७९ ले मतदान गरेका थिए भने ७ जना उपस्थित भएनन् ।

उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्यानल बनाएर प्रतिस्पर्धा नगर्न निर्देशन दिएपनि अध्यक्षका दुबै उम्मेदवारले टिम खडा गरेका थिए ।

अधिवेशनमा नेताहरुले हस्तक्षेप नगर्न दिएको अध्यक्षको निर्देशन लत्त्याउँदै पोलिट्व्युरो सदस्य गोकुल बास्कोटा, जिल्ला अध्यक्ष अशोककुमार व्याञ्जु लगायतका नेता कार्यकर्ता भूर्तेलको पक्षमा खडा भएका थिए भने केन्द्रीय सदस्य रेशम लामा, युवा संघका उपाध्यक्ष अमित लामा लगायतका युवाहरू लामाको पक्षमा खुलेका थिए ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू