एमाले नेताहरूको दबाबमा सुनसरीको कार्यक्रम रोकियो, बाटोबाटै फर्किए भीम रावल

173

काठमाडौं –  नेकपा एमालेको कारबाहीमा परेका नेता भीम रावललाई विराटनगरमा नेकपा एकीकृत समाजवादी पार्टी र दुर्गा प्रसाईंका समर्थकले स्वागत गरेका छन् ।

एमालेबाट निष्कासनमा परेपछि शनिबार विराटनगर पुगेका रावललाई विमानस्थलमा नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य वसिल आलमसहित नेताहरूले स्वागत गरेका हुन् ।

उनलाई स्वागत गर्न दुर्गा प्रसाईंले नेतृत्व गरिरहेको ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियान’का केन्द्रिय सदस्य सतिश पोखरेल लगायत पनि पुगेका थिए ।

भीम रावल सुनसरीमा भरौल भेट्रान क्लबले आयोजना गर्ने अन्तर्राष्ट्रिय आमन्त्रण भरौल भेट्रान गोल्ड फुटबल प्रतियोगिताको उद्घाटनका लागि विराटनगर पुगेका थिए । तर उनले उद्घाटन गर्ने भनिएको कार्यक्रम भने २२ पुससम्मका लागि सरेपछि उनी भरौल चोक पुगेर फर्किए । ‘उहाँ आउनु भएको थियो तर उद्घाटन नै सरेपछि मैदान पुग्नु भएन्, भरौल चोकबाटै फर्कनुभयो,’ एकीकृत समाजवादीका एक नेताले भने ।

ती नेताका अनुसार नेकपा एमाले नेताहरूले दबाब दिएका कारण प्रतियोगिताको उद्घाटन सरेको हो । आयोजक स्रोतले पनि राजनीतिक दबाबका कारण उद्घाटन सरेको जनाएको छ ।

भरौल पुगेर फर्किएका रावल मोरङ र सुनसरीका नेता कार्यकर्ता भेटघाटमा लागेका छन् ।

समाचार वर्गहरू