काठमाडौं – लुम्बिनी प्रदेश सरकार ढल्ने निश्चित भएको छ । लुम्बिनी प्रदेश सरकारलाई समर्थन दिएका ६ वटै दलले एकैपटक समर्थन फिर्ता लिने गरी तयारी थालेपछी सरकार ढल्ने निश्चित भएको हो ।
सरकारलाई समर्थन फिर्ता लिएका ६ वटा दलसहित केन्द्रको सत्तापक्ष गठबन्धनमा रहेका कांग्रेस र एकीकृत समाजवादी पार्टी गरी आठ दलको बुधबार भालुवाङमा भएको बैठकले एकैपटक समर्थन फिर्ता लिने निर्णय गरेको कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले जानकारी दिए ।
‘आज आठ दलको बैठक बस्यो, सरकारलाई समर्थन दिएका दलले एकैपटक समर्थन फिर्ता लिने निर्णय भएको छ,’ चौधरीले भने, ‘त्यसपछि आठ दलको संयुक्त सरकार बन्नेछ ।’
हाल एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री छन् । उनलाई माओवादी, नागरिक उन्मुक्ति, राप्रपा, जसपा, जनमत, लोसपा, एकीकृत समाजवादी र दुई स्वतन्त्र सांसदको समर्थन छ ।
प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, माओवादीका १०, नागरिक उन्मुक्ति र राप्रपाका चार–चार, जसपा, जनमत र लोसपाका तीन-तीन, एकीकृत समाजवादीका एक र स्वतन्त्र दुई सांसद छन् ।