काठमाडौं – कांग्रेसले चुनावी गठबन्धन नगर्ने निर्णय गरेको दुई दिन नबित्दै एमालेले पनि आगामी चुनाव एक्लै लड्ने घोषणा गरेको छ ।
ललितपुरस्थित एमाले केन्द्रीय कार्यालयमा मंगलबारदेखि सुरु पोलिटब्युरो बैठकमा प्रधानमन्त्री ओलीले कांग्रेससित सरकारमा सहकार्य भए पनि आगामी चुनावमा आआफ्नो नीति लिएर प्रतिस्पर्धा गर्ने बताए ।
पार्टीले एकल बहुमत ल्याउने उद्देश्यसहित ‘मिसन ०८४’ तय गरेको उल्लेख गर्दै त्यहीअनुसार कार्ययोजना बनाउन ओलीले निर्देशन दिए । ‘अहिले कांग्रेससित सत्ता सहकार्य भए पनि आगामी निर्वाचनमा एमाले एक्लै चुनाव लडेर प्रमुख राष्ट्रिय शक्ति बन्नेछ,’ पोलिटब्युरो बैठकमा ओलीले भने, ‘त्यसका लागि मिसन ०८४ सुरु गरिसकेका छौं ।’
सोमबार मात्रै कांग्रेस केन्द्रीय कार्यसमितिले चुनावी गठबन्धन नगर्ने महामन्त्री गगन थापाको प्रस्तावलाई भाषा परिमार्जन गर्दै अनुमोदन गरेको थियो । ‘हामी भविष्यमा हुने निर्वाचनमा आफ्नै तागतमा एक्लै लड्नेछौं र हाम्रा मतदातालाई कांग्रेसको चुनाव चिह्न रूखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं,’ कांग्रेसको निर्णयमा भनिएको छ ।
बैठकमा ओलीले गठबन्धन सरकार ०८४ को आमनिर्वाचनसम्म तलमाथि नहुने उल्लेख गर्दै कांग्रेस–एमालेबीच भएको सातबुँदे सहमति अक्षरशः कार्यान्वयन हुने बताए । उनले सय दिन पूरा नहुँदै सरकारलाई घेराबन्दीको प्रयास भइरहेकाले त्यसलाई चिर्न नेताहरूलाई निर्देशन दिए ।