एमाले पर्साको अधिवेशनमा कुटाकुट, उपसचिवका उम्मेदवार अस्पताल भर्ना

7

काठमाडौं – नेकपा एमाले पर्साको उपाध्यक्षसहित पदाधिकारी चयनका लागि आयोजित भेलामा शुक्रबार विवाद हुँदा कार्यकर्ताबीच कुटाकुट भएको छ। 

वीरगन्जस्थित अनमोल पार्टी प्यालेसमा एमाले कार्यकर्ताबीच कुटाकुट हुदाँ घाइते भएका जिल्ला उपसचिव पदका उम्मेदवार रामकिशोर सिंह परागको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ।

निर्वाचनमा धाँधली गरिएको भन्दै उपाध्यक्ष पदका उम्मेदवार लालबाबु शेख पक्षधरले दिउँसै निर्वाचन समितिको कोठामा तालाबन्दी गरेका थिए। त्यसका बावजुद निर्वाचन समितिले जबरजस्ती मतदान गराउन खोजेपछि त्यसको प्रतिवाद गर्दा कार्यकर्ताबीच कुटाकुट भएको सचिव पदका उम्मेदवार नवराज शर्माले बताए।

अध्यक्षमा निर्विरोध निर्वाचित भइसकेका विश्वम्भर शर्मा पक्षकाले जबरजस्ती मतदान गराउन खोजेपछि कुटाकुट भएको उनले बताए। इतर पक्षका अन्य नेताहरूमाथि पनि हातपात भएको उनको भनाइ छ।

यता अध्यक्ष शर्मा पक्षकाले भने निर्वाचन समितिले नियमसंगत प्रक्रिया पूरा गरेर निर्वाचन गराउन खोज्दा इतर पक्षका केही कार्यकर्ताले निर्वाचन समितिको कोठामा पसेर जबरजस्ती तोडफोड गरेको बताएका छन्। एमालेका वीरगन्ज महानगर सचिव सुन्दर कुर्मीले भने, ‘निर्वाचन समिति नियम र विधि पूरा गरी मतदान प्रक्रियाका लागि तयारी गर्दै थियो। त्यही बेला सचिवका उम्मेदवार परागहितका समूह भित्र पसेर जबरजस्ती गर्न थालेपछि आक्रोशित कार्यकर्ताले प्रतिवाद गरे। अनि दुवै पक्षबीच धकेलाधकेल र हात हालाहाल भयो।’

कार्यकर्ताबीचच कुटाकुट भएपछि निर्वाचन शनिबारसम्मका लागि स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ।

वैशाख १७ देखि सुरु एमालेको नवौं जिल्ला अधिवेशनले बिहीबार जिल्ला अध्यक्षमा विश्वम्भर शर्मालाई निर्विरोध चयन गरिसकेको छ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू