एमाले राजनीतिमा फर्किने विद्या भण्डारीको उद्घोष

137

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको राजनीतिमा फर्किएको उद्घोष गरेकी छिन् ।

मदन भण्डारी फाउन्डेसनले शनिबार आयोजना गरेको ‘जबजका तीन दशक’ का विचार गोष्ठीमा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले अबको समय एमालेमै रहेर राजनीतिक यात्रालाई निरन्तरता दिने बताएकी हुन् ।

उनले राष्ट्रपतीय जिम्मेवारीबाट मुक्त भएको दुई वर्ष बितेको र यस अवधिमा आफूले देशका विभिन्न भागमा पुगेर जनतासँग भेटघाट गरेको उल्लेख गरिन्।

विद्यार्थी आन्दोलनदेखि राजनीतिमा सक्रिय हुँदै गएको बताउँदै उनले स्ववियू निर्वाचनमा समेत निर्वाचित भएको स्मरण गराइन्। उनले पार्टी राजनीतिमा पनि आफूले लामो संघर्ष गरेको उल्लेख गरिन्।

मदन भण्डारीको निधनपछि आफ्नो राजनीतिक मोड लिएको बताउँदै उनले पार्टीको विभिन्न जिम्मेवारी सम्हालेको बताइन्।

‘फरक ढंगको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु,’ भण्डारीले भनिन्,‘अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु ।’

उनले एमालेमा रहेर राजनीति यात्रालाई निरन्तरता दिए पनि आफ्नो कुनै विशिष्ट महत्वाकांक्षा भने नभएको बताइन् । ‘देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो । जननेताले भन्ने गर्नुहुन्थ्यो— जनता भनेका भगवान हुन् । साथै उहाँले भन्नुभएको थियो— राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन,’ उनले भनिन्,‘आज तपाईंहरूका बीचमा हुँदा मदनका यी भनाइहरू मैले पुनः स्मरण गर्दै यहाँ उल्लेख गरेको छु ।’

समाचार वर्गहरू