एयरपोर्टमा गाई–भैँसी, धावनमार्गमा ट्रक र ट्र्याक्टर

41

काठमाडौं – कुनै  पनि विमानस्थलमा जहाजको आवागमन हुन्छ। यात्रुको ओहोरदोहोर चल्छ। तर,  गोरखाको पालुङटार विमानस्थलमा भने जहाज हैन, गाईगोरु, भैंसी र राँगाहरू  बग्रेल्ती बसिरहेका, चरिरहेका, जुधिरहेका, खेलिरहेका हुन्छन्। धावनमार्गमा  जहाज होइन, ट्रक, ट्र्याक्टर, बस, जिपलगायतका सवारी साधनहरूको लावा लस्कर कुदिरहेका हुन्छन्।

स्थानीय अनिल थपलियाका अनुसार विमानस्थल स्तरोन्नति  गर्न, घेराबार गर्न र धावनमार्गलाई चुस्तदुरुस्त राख्न २०७७ सालमा ३  करोड बजेट आएको थियो। काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिले नागरिक उड्डयन  प्राधिकरणसँग विमानस्थल स्तरोन्नतिका लागि ठेक्का सम्झौता गरे पनि काम सम्पन्न  गर्न नसकेको थपलियाले बताए। हाल विमानस्थलको धावनमार्ग गाडी दौडाउने  ‘सर्टकट’ बाटो बनेको छ ।  आसपासका किसानका घरपालुवा पशुचौपायाका  लागि फराकिलो चरन क्षेत्र बनेको छ, एयरपोर्ट। पालुङटार  नगरपालिका ५ र ६ मा पर्ने उक्त एयरपोर्टको धावनमार्गमा एक महिनायता सवारी  साधन बाक्लै गुड्ने गरेको वडाअध्यक्ष दीपक पाण्डेले जानकारी दिए। ‘अहिले  तुरतुरेदेखि राधाकृष्णमन्दिर हँुदै ठाँटीपोखरी जाने सडक कालोपत्रे  हुँदैछ’, पाण्डेले भने, ‘त्यसै हुनाले गाडी डाइभर्सन गरेर हवाई ग्राउन्डबाट  बाइपास गराइएको छ।

गाडी कुद्न थालेपछि सब–बेस ओछ्याएर छाडेको  धावनमार्ग धुलाम्मे भएको छ। नत्र घाँस उम्रिएको थियो।’ राज्यको  ढुकुटीको ३ करोड खर्चेर पनि धावनमार्ग स्तरोन्नतिको काम अलपत्र बनाएको उनले बताए। ‘कि विमानस्थल प्रयोगमा ल्याउने प्रक्रिया अघि बढाउनुपर्‍यो’,  उनले भने, विमानस्थल प्रयोगमा ल्याउनु छैन भने स्तरोन्नतिको नाममा करोडौं खर्च किन गर्नुपर्‍यो ?’

विमानस्थलको जग्गा अतिक्रमण गरेर  पक्की संरचना निर्माण भएका कारण विमानस्थल पुनर्निर्माणमा कठिनाइ भएको  हो। विमानस्थलको जग्गा व्यक्तिले पनि अतिक्रमण गरेको र राज्यले पनि पक्की सडक  निर्माण गरेपछि विमानस्थल स्तरोन्नतिको कामले पूर्णता पाउन नसकेको हो।

लामो  समयदेखि बन्द रहेको विमानस्थलभित्र पक्की सडक निर्माण गरिएको छ। सोही  सडकको विवादका कारण विमानस्थल स्तरोन्नतिमा ढिलाइ भएको पालुङटर  विमानस्थल आयोजना कार्यालयले जनाएको छ। कार्यालयका अनुसार विमानस्थलको  संरचना निर्माण र हाल भएको हवाई मैदान सुधारका लागि ०७७ असार  ३१ गते ठेक्का सम्झौता भएको थियो।

एक वर्षभित्र पूर्वाधार निर्माण र  सुधारको काम सक्ने गरी काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिले २ करोड ७६ लाख  ९७ हजार ७ सय ३५ रुपैयाँमा ठेक्का पाएको थियो। सम्झौताअनुसार  २०७८ साउन १४ गते काम सक्नुपर्ने थियो। तर, कोभिड र सडक विवादको  कारण देखाउँदै विमानस्थलको स्तरोन्नति कार्य रोकिएको थियो। समयमै काम  सम्पन्न नभएपछि ठेक्का सम्झौता चैत मसान्तसम्मका लागि म्याद थप गरिएको थियो।

नापी  कार्यालय गोरखाबाट गएको टोलीले नापजाँच गर्दा विमानस्थलकै जग्गाबाट पक्की  सडक लगेको पुष्टि भएको थियो। ३३६ रोपनी क्षेत्रफलमा फैलिएको  विमानस्थलको छेउबाट पक्की सडक निर्माण गरेकाले घेराबार गर्न समस्या भएको हो।  विमानस्थल वरिपरि तीन किलोमिटर घेराबार गर्नुपर्नेमा जग्गा अनिक्रमणसम्बन्धी  विवादका कारण अझै सातदेखि ८ सय मिटर बाटोमा घेराबार गर्न बाँकी रहेको  आयोजना कार्यालयले जनाएको छ।

त्यस्तै, १२ सय मिटर, लम्बाइ र चौडाइ  ३० मिटर फराकिलो रहेको धावनमार्गमा सव–बेस मात्र ओछ्याइएको छ। नागरिक  उड्डयन प्राधिकरणले कम्तीमा ४२ सिटको विमान उडान अवतरण गर्न सक्ने गरी  संरचना निर्माण कार्य सुरु गरेको हो। यसअघि घाँसेमैदान बनेको सो  विमानस्थल धावनमार्ग बनेपछि आफ्नै स्वरूपमा फर्किने अपेक्षा थियो।

उक्त  विमानस्थल २०१७ सालमा निर्माण पूरा भएर २०१८ सालदेखि उडान सेवा सुरु  भएको थियो। २०१७ सालमा गोरखा, तनहुँ, लमजुङ, मनाङका विभिन्न  क्षेत्रमा खाद्य संकट हुँदा जहाजमार्फत खाद्यान्न ढुवानी गरिएको थियो।  २०३४ सालसम्म यी जिल्लामा निर्माण भएका खानेपानी योजनाका लागि आवश्यक पर्ने  फलामे पाइपहरू पनि जहाजबाट ओसारपोसार गरिएको थियो। काठमाडौं–पोखरा  राजमार्ग निर्माण भएर सस्तो भाडामा बस सेवा चल्न थालेपछि २०३८ सालदेखि यो  विमानस्थल बन्द भएको स्थानीयवासीको भनाइ छ। गोरखापत्र बाट

समाचार वर्गहरू