एसइई परीक्षाको तयारी पूरा, ५ लाख १२ हजार विद्यार्थी सहभागी हुँदै

76

काठमाडौँ – माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी पूरा भएको र भोलि बिहीबारदेखि परीक्षा सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालनका लागि सबै तयारी पूरा भएको जानकारी दिएको छ।

शैक्षिक क्यालेन्डर अनुसार एसइई परीक्षा चैतको पहिलो साता हुनुपर्ने थियो। तर, २१ फागुनको प्रतिनिधि सभा निर्वाचनका कारण परीक्षा १९ चैतमा सारिएको हो।

परीक्षणका लागि प्रश्न पत्र र उत्तरपुस्तिका सबै केन्द्रमा वितरण भइसकेका छन्। केन्द्राध्यक्षहरू नियुक्त भई सम्बन्धित परीक्षा केन्द्रमा पुगेका छन्। यस वर्ष १ हजार ९६६ परीक्षा केन्द्र कायम गरिएको छ, जसमा एउटा केन्द्र जापानमा रहेको छ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी परीक्षा दिँदैछन्। विद्यार्थीमध्ये २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ अन्य सहभागी छन्। जापानको एभरेस्ट स्कुलबाट २३ विद्यार्थी सहभागी हुनेछन्। पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुनेछ।

बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार नतिजा परीक्षा सकिएपछि १ महिनाभित्र सार्वजनिक गर्ने तयारी छ।

समाचार वर्गहरू