ए डिभिजन लिगमा बुधबार दुई खेल हुँदै

45
फाइल फोटो

(काठमाडौं) – शहिद स्मारक ए डिभिजन लिगमा बुधबार दुई खेल हुँदैछन् । पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी ) र थ्री स्टार क्लब आमने सामने हुनेछन् भने दोस्रो खेलमा च्यासल युथ क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् ।

दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । ब्रिगेड ब्वाइज क्लब (बिबिसी ) र थ्री स्टार क्लबबीचको खेल मध्यान्न १२ बजे सुरु हुनेछ भने दोस्रो खेल ३ बजे पछि सुरु हुनेछ । राष्ट्रिय टिमको खेलाडीको बाहुल्यता रहेको थ्री स्टारले गत सिजन ब्रिगेडलाई फराकिलो अन्तरले हराएको थियो ।

केही ठूला अनुहारले क्लब छाडेपछि थ्री स्टार नयाँ अनुहार सहित लिग खेल्न उत्रिएको छ । यता, अधिकांश पुरानै अनुहार समावेश गरेको ब्रिगेडले नयाँ सिजन सिनियर खेलाडी समावेश गरेर सन्तुलित टिम बनाउन खोजेको छ । यू–१९ राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरिसकेका खेलाडीको बाहुल्यता रहेको ब्रिगेडले अनिल गुरुङ लगायत केही पुराना खेलाडीको साथ पाएको छ ।

आजै हुने दोस्रो खेलमा च्यासललाई भने पुलिससँग गत वर्ष लिगमा ब्यहोरेको हारको बदला लिने रणनीतिका साथ मैदान उत्रने छ । ४ खेलबाट २ जित १ बराबरी र १ हारको नतिजा निकालेको पुलिस तालिकामा ३ अंक थप्दै शीर्ष टोलीमाथि दबाव बढाउने योजनामा रहेको छ ।

१ जित २ हार र १ बराबरीसंगै ४ अंकमा तालिकाको नवौ स्थानमा रहेको च्यासल भने दोस्रो जितको खोजीमा छ । लिगमा सयौ गोलको संघारमा रहेका स्टाईकर सन्तोष साउखललाई त्यो कीर्तिमान निर्माणका लागि पनि आजको खेल महत्वपूर्ण छ ।

समाचार वर्गहरू