काठमाडौं – नेपाल शिक्षक महासंघले शरीरमा एक थोपा रगत छउन्जेल सडक आन्दोलन जारी राख्ने निष्कर्ष निकालेको छ। महासंघको मंगलबार काठमाडौँमा बसेको बैठकले आफ्ना माग पूरा गर्न यस्तो निष्कर्ष निकालेको हो।
बैठकमा अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘ऐन जारी नहुन्जेल एक थोपा रगत भएसम्म हामी लड्छौँ। आन्दोलन प्रदेश र पालिकामा फर्किने कुनै सम्भावना छैन। जस्तोसुकै कठिन अवस्थामा भए पनि आन्दोलनमा रहन्छौँ।’
उनले आन्दोलन निर्णायक मोडमा पुर्याएरै छाड्ने बताए। साथै उनले आन्दोलन जारी राखेर १२ गतेको संसदमार्फत सरकारलाई दबाब दिइने पनि बताए। उनले भने, ‘यो आन्दोलन निर्णायक मोडमा पुर्याउनुपर्छ। १२ गतेको संसदमार्फत सरकारलाई दबाब पर्छ। १५ गते सरकारले केही निर्णय गर्न बाध्य हुन्छ।’
अध्यक्ष सुवेदीले बैठकमा साँच्चिकै आन्दोलन अब सुरु हुने बताए। उनले आन्दोलनमा आउन बाँकी रहेका शिक्षकहरूलाई काठमाडौँ आउने वातावरण बनाइने पनि बताए।
नेपाल शिक्षक महासंघकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले बैठकमा सम्बोधन गर्दै अब पछाडि फर्किने छुट नरहेको बताएकी थिइन्। ‘जित्छौँ हाम्रै कारणले जित्छौँ, हार्छौँ हाम्रै कारणले हार्छौँ’, पराजुलीले भनिन्।
यसैबिच आज २१औं दिनपछी पनि अध्यक्ष सुवेदीले सामाजिक संजाल फेसबुक मार्फत सबै शिक्षकहरुलाई सदाझैं बुधलबार बिहान ठिक ११ बजे माइतीघर मण्डलामा उपस्थितहुन आव्हान गरेका छन् । बुधबारको आन्दोलन ११ बजेदेखि २ बजेसम्म हुने उनले बताए ।