(एजेन्सी) – ओमानले अष्ट्रेलियामा अर्को वर्ष हुने टी–२० विश्वकप क्रिकेटमा स्थान बनाएको छ । यूएईमा जारी ग्लोबल क्वालिफायर अन्तर्गत प्लेअफको खेलमा हङकङलाई १२ रनले हराउँदै विश्व कपमा स्थान बनाएको हो ।
ओमानले दिएको १ सय ३५ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको हङकङले ९ विकेट गुमाएर १ सय २२ रन मात्र बनाउन सक्यो । स्कट म्याकचीनले ४४ र हारोन अर्सदले २० रन बनाएको हङकङका लागि अन्यले गतिलो ब्याटिङ गर्न सकेनन् । ओमानका बिलाल खानले ४ तथा फैयाज बट र खावर अलीले समान २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रनको मध्यम योगफल तयार पारेको थियो । ओपनर जितेन्दर सिंहले नटआउट ६७ र नासिम खुसीले २६ रनको योगदान गरे ।
आमिर कालेमले १७ रन बनाए । हङकङका नसरुल्ला रानाले २ तथा अजिज खान, ईस्हान खान र महम्मद घाजन्फरले समान एक एक विकेट लिए । यो संगै टी–२० विश्वकप खेल्ने सबै १६ टोलीको टुंगो लागेको छ ।