काठमाडौँ – अभिनेत्री करिश्मा मानन्धरले अध्यक्ष केपी शर्मा ओलीको प्रेरणाले नेकपा एमाले प्रवेश गरेको बताएकी छिन् ।
केही समय बाबुराम भट्टराईको नयाँ शक्तिमा रहेकी मानन्धरले देशभर एमालेप्रति सद्भाव राख्ने व्यक्ति बढी भएकाले पनि एमाले प्रवेश गरेको बताइन् ।
एमाले प्रवेश गर्नुको कारण खुलाउँदै उनले भनिन्, ‘एमाले प्रवेश गर्नुको पहिलो कारण त अध्यक्ष ओली नै । उहाँको इनर्जी र प्रेरणा नै हो । ६ महिनाको अन्तरालमा मैले उहाँलाई २ पटक भेटेँ । उहाँको इनर्जी देखेर मलाई ताज्जुबै लाग्छ । अध्यक्ष ओलीलाई फुर्काउन भनेको होइन, नेता भनेको जनताको पथप्रदर्शक हो । उहाँको गुणगान नगाउने मान्छे नै छैन ।’
त्यस्तै एमाले प्रतिपक्षमा रहेर पनि सशक्त भूमिका निर्वाह गरिरहेको मानन्धरले बताइन् । कलाकारिता क्षेत्रबाट पनि मुलुकका लागि आफूले थुप्रै योगदान गरेको उल्लेख गर्दै उनले मुलुकको परिवर्तनका लागि काम गर्नै एमाले रोजेको बताइन् ।