काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज पूर्वी पहाडी जिल्ला तेह्रथुम भ्रमणमा जाँदैछन्।
प्रचण्डले आज लालीगुराँस नगरपालिका–७ लसुनेस्थित शहीद धनरुपा पार्कको उद्घाटन गर्ने कार्यक्रम छ। सो कार्यक्रमकालागी प्रचण्डसँगै सैनिक हेलिकोप्टरमा माओवादी केन्दका उपमहासचिव वर्षमान पुन अनन्त पनि तेह्रथुम जाँदैछन्।
त्यहाँबाट उनी प्रधामन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीको जन्मथलो आठराई जानेछन्। प्रचण्डले आठराई गाउँपालिका–३ ह्वाकु बगाले शहीद स्मृति पार्क र सोही स्थानमा जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्ने कार्यक्रम छ।
उक्त स्थानमा २०५८ साल माघ २४ गते आजकै दिन सुरक्षाकर्मीको गोली लागी १८ माओवादी सेनाका लडाकु र ३ सर्वसाधारण मारिएका थिए।
उनी आज राति आठराई–६ चुहानडाँडा बजारमा बास बस्नेछन्। मंगलबार बिहान आठराई–६ मा पार्टी कार्यकर्ता, स्थानीय तथा स्वर्गीय माओवादी नेता भक्तराज कन्दङवाका परिवारसँग भेटघाट गर्ने प्रचण्डको कार्यतालिका छ।
त्यसपछि उनले कन्दङवाको शालीक अनावरण गर्नेछन्। दिउँसो तेह्रथुम बहुमुखी क्याम्पसको सभाहलमा पार्टीको तेह्रथुम जिल्ला स्तरीय कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएर उनी काठमाडौं फर्कने माओवादी केन्द तेहथुमका नेता रघु गौतमले जानकारी दिए।