आर.के.प्रखर/काठमाडौं – संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । अपरान्ह १ बजे बस्ने गरी बोलाइएको बैठकमा सभामुख चयनको विषयमा छलफल हुने बताइएको छ । यद्यपी आजको बैठक सुचना टाँस गरेर स्थगित हुने प्रबल सम्भावना रहेको संसद सचिवालयका एक कर्मचारीले बताए ।
यसअघि पनि नेकपामा सभामुख कसलाई बनाउने भन्ने विषयमा सहमति नजुट्दा पुस ११ र १६ गते बोलाइएको संसद बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । तर, नेकपाले सभामुखको उम्मेदवार औपचारीक रुपमा तोकिनसकेको हुँदा आजको बैठक सुचारु हुने उपसभामुख शिवमाया तुम्बाहाङ्फेको भनाइ छ ।
ओली–दाहाल आ–आफ्नै अडानमा
नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सभामुख कसले पाउने भन्ने विषयमा सहमति नजुट्दा संसदको काम प्रभावित हुँदै आएको छ । प्रधानमन्त्री ओली पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पुनः सभामुख बनाउन चाहान्छन् । उनको दोस्रो रोजाइमा वर्तमान उपसभामुख तुम्बाहाङ्फे छिन् । नेकपाका अर्का अध्यक्ष दाहाल पनि पूर्वमाओवादीबाटै सभामुख हुनुपर्ने अडानमा छन् । पूर्वमाओवादी पक्षबाट को सभामुख हुने भन्ने निर्णय भइनसेक पनि दाहालको पहिलो रोजाइमा नेकपा स्थायी समिति सदस्य अग्नि सापकोटा रहेको बताइएको छ ।
पार्टी एकताको क्रममा राष्ट्रपति र प्रधानमन्त्री पूर्वएमाले तथा सभामुख पूर्वमाओवादीले पाउने सहमति भएको भन्दै सभामुख नछाड्न दाहाललाई उनी निकट नेताहरुले दबाब दिँदै आएका छन् । तर, तत्कालिन सभामुख कृष्णबहादुर महराले सरकार सञ्चालनका धेरै विषयमा असहयोग गरेको भन्दै प्रधानमन्त्री ओली सभामुख आफ्नै निकटका नेतालाई बनाउन चाहान्छन् । सभामुख पूर्वएमालेले पाउने हो भने सरकार सञ्चालनमा आफूलाई सहज हुने उनको तर्क छ ।
संसदमा बहुमतका आधारमा सभामुख नेकपाकै हुने कुरामा कुनै सन्देह छैन । तर, सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण सभामुखमा नेकपाले दाबी गर्न उपसभामुखबाट तुम्बाहाङ्फेले राजीनामा दिनैपर्ने हुन्छ । उनलाई राजीनामा दिन नेकपा सचिवालयले निर्देशन समेत दिइसकेको छ । यद्यपी तुम्बाहाङ्फेले आफूलाई सभामुखको स्वाभाविक दाबेदारका रूपमा प्रस्तुत गर्दै आएकी छन् । तत्कालीन सभामुख महराको गल्तीको सजाय भोग्न उनी तयार छैनन् । राजीनामा दिन आफ्नो दोष प्रस्ट हुनुपर्ने र नयाँ सभामुखको नाम खुलाउनुपर्ने उनले सर्त समेत अघि सारेकी छन् ।
संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयासको अभियोगमा तत्कालिन सभामुख महराले गत असोज १४ गते राजीनामा दिएका थिए । महराको गल्तिको सजाएँ उपसभामुख तुम्बाहाङ्फेलाई दिने गरी नेकपाले बाध्यकारी निर्णय गरेको छ । ओली–प्रचण्डको भागबण्डाको खेलमा उपसभामुख तुम्बाहाङ्फे प्रयोग भएकी छिन् ।