ओली र लेखकको गिरफ्तारी पछि दलहरुसँग संवाद गर्न एमालेले तोक्यो जिम्मेवारी

11

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछिका घटनाबारे अन्य दलसँग संवाद गर्न जिम्मेवारी बाँडफाँट गरेको छ । राजनीतिक दलहरुसँग संवादको संयोजन उपाध्यक्ष विष्णु पौडेलले गर्नेछन् ।

संसदीय दलहरूसँगको संवादको संयोजनको जिम्मेवारी अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई दिइएको छ भने कानुनी प्रतिवादको संयोजन गर्ने जिम्मेवारी उपाध्यक्ष गोकर्ण विष्टले पाएका छन् ।

संसदमा रहेका दलहरुसँग संवाद गरेर सामूहिक प्रतिवादको योजना बनाउने महासचिव शंकर पोखरेलले जानकारी दिए । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा फौजदारी कसुरमा कारबाही सिफारिस भएपछि प्रहरीले ओली र लेखकलाई आज पक्राउ गरेको छ ।

लगत्तै पार्टी कार्यालय च्यासलमा उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा एमाले सचिवालयको आकस्मिक बैठक बसेको थियो । सोही बैठकले संसदमा रहेका र नरहेका दलसँग संवाद गर्ने र कानुनी प्रतिवादको संयोजन गर्ने जिम्मेवारी बाँडफाँट गरेको हो ।

महासचिव पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको पक्राउ प्रतिशोधपूर्ण, पूर्वाग्रही, गैरकानुनी भएको बताए । नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग गरेको छ ।

आज बसेको एमाले सचिवालयको आकस्मिक बैठकले सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा छुट्टै आयोग गठन गर्न माग गरेको हो ।

समाचार वर्गहरू