कक्षा ११ को परीक्षाफल सार्वजनिक, ३ लाख ४९ हजार बढी सहभागी

16

 काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल मंगलबार सार्वजनिक गरेको छ । गत वैशाख २९ देखि जेठ ८ गतेसम्म लिएको परीक्षाको नतिजा बोर्डले आज सार्वजनिक गरेको हो । बोर्डका सूचना अधिकारी नारायण पोखरेलले मंगलबार बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको जानकारी दिए ।

परीक्षामा पुराना र नियमित गरी ५ लाख ९ हजार ५२ परीक्षार्थी सहभागी थिए । तीमध्ये ३१ जना परीक्षार्थीको नतिजा रद्द भएको बोर्डले जनाएको छ ।

नियमिततर्फ ३ लाख ४९ हजार ६ सय ३ जना सहभागी थिए । नियमित तर्फको नतिजालाई जीपीएअनुसार नौ किसिमले सार्वजनिक गरिएको बोर्डले जनाएको छ । तीमध्ये ३ दशमलव ६१ देखि ४ जीपीए हासिल गर्ने २ हजार ३ सय १९ जना छन् ।

त्यसैगरी ३ दशमलव २१ देखि ३ दशमलव ६० जीपीए प्राप्त गर्ने १३ हजार ७ सय ७२ जना छन् । २ दशमलव ८१ देखि ३ दशमलव २० जीपीए ल्याउने ३२ हजार २ सय ५३ जना, २ दशमलव ४१ देखि २ दशमलव ८० जीपीए पाउने ५४ हजार ८ सय १६ जना रहेको बोर्डले जनाएको छ ।

यसैगरी, ८४ हजार २ सय ३९ जनाले २ दशमलव १ देखि २ दशमलव ४० जीपीए प्राप्त गरेका छन् । सबैभन्दा धेरै ८९ हजार ६ सय ५० जनाले १ दशमलव ६१ देखि २ जीपीए पाएका छन् ।

यस्तै, ४३ हजार ३७ जनाले १ दशमलव २१ देखि १ दशमलव ६० जीपीए, ८ हजार १ सय ७१ जनाको ० दशमलव ८१ देखि १ दशमलव २० जीपीए र २१ हजार ३ सय ४६ जनाको ०.८० जीपीए रहेका छन् । नियमितर्फ १८ जना परीक्षार्थी एक्सपेल्ड भएका छन् ।

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले अनुसार ग्रेड नतिजा विगत भन्दा सुधार आएको बताएका छन् । बोर्डका अनुसार, परीक्षाफल बोर्डको वेबसाइट, नेपाल टेकिलकमको वेबसाइटलगायतबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

त्यस्तै, परीक्षार्थीले एसएमस र आइभीआर सर्भिसबाट पनि नतिजा हेर्न सक्नेछन् । पुराना परीक्षा प्रणाली पूर्णाङ्क अन्तर्गत १७ हजार १ सय ४ जना परीक्षार्थी सहभागी थिए । तीमध्ये ७ हजार १ सय ३२ जना उत्तीर्ण भएका छन् । यो उत्तीर्ण प्रतिशत ४१ दशमलव ७० हो । यसैगरी आंशिक परीक्षातर्फ १ लाख ४२ हजार ३ सय ४५ परीक्षार्थी सहभागी थिए ।

समाचार वर्गहरू