काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न पुगेका सांसद दीपक सिंहलाई प्रहरीले भित्रै थुनिदिएको छ । भद्रकालीस्थित प्रहरी परिसरमा पुगेका सिंहलाई भित्रै थुनिदिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
“हामीलाई उहाँलाई नियन्त्रणमा लिनुपर्नेछ, तपाईं बाहिर जानुस् भन्दै बाहिर निकाले, उहाँलाई भित्र राखिदियो,” श्रेष्ठले भने । उनले यसलाई ‘सर्वसत्तावादी निरंकुश गणतन्त्रको नाङ्गो रुप’ भनेका छन् । “जहाँ भन्यो हामी त्यहीँ बस्यौँ,” श्रेष्ठले भने, “अहिले एकाएक नेताहरु पक्राउ गर्न थाल्यो ।”
थापालाई नारायण चौरबाट पक्राउ गरी प्रहरीले भद्रकालीस्थित परिसरको कार्यालयमा राखेको छ । थापालाई भेट्न भन्दै पुगेका राप्रपा सांसद दीपक सिंहलाई पनि प्रहरीले परिसरबाटै नियन्त्रणमा लिएको हो।
थापालाई भेट्ने नाममा हुलहुज्जत गर्दै आएपछि सिंहलाई पक्राउ गरेर राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहोराले जानकारी दिए ।