काठमाडौं – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कम्तिमा राष्ट्रिय सभामा राजावादीहरू नभएको टिप्पणी गरेका छन् ।
संसदीय मामिला पत्रकार समाजले आयोजना गरेको राष्ट्रिय सभाको औचित्यतामाथिको छलफलमा उनले यस्तो बताएका हुन् । उनले राष्ट्रिय सभामा संघीयतावादी र संघीय लोकतान्त्रिक गणतन्त्रवादी रहेको भन्दै खुसी व्यक्त गरे ।
‘राष्ट्रिय सभामा कम्तीमा राजावादी छैनन् । हामीले राजा फ्याँक्नुपर्छ भनेका हौं । त्यहाँ सबै संघीयतावादी, लोकतान्त्रिक गणतन्त्र मान्ने मान्छेहरू छन् । हामी एकमत छौं । यो राम्रो पक्ष भएको बेलामा केही स्टेप अघि छौं,’ सिटौलाले भने ।
फरक प्रसंगमा उनले प्रदेश र स्थानीय तहबारे संविधानमा भएको परिभाषा अनुसार अघि बढ्न नसकिएको बताए । ‘खासगरी प्रदेश र स्थानीय तहको सन्दर्भमा जसरी संविधानले परिभाषा गरेको छ । त्यसमा काम गर्न सकिएको छैन । कतिपय साझा अधिकारको विषय छन् । प्रदेश र स्थानीय तहको बारेमा मात्रै कुरा गरिएको छ,’ सिटौलाले भने ।