कम्युनिष्ट कलहले गण्डकीमा गुरुङको वहिर्गमन, पहिलोपटक कांग्रेसको सत्तारोहण

38

काठमाडौं – गण्डकी प्रदेशबाट नेकपा (एमाले) नेतृत्वको सत्ता बहिर्गमन सुरु भएको छ। शनिबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई बहुमतको आधारमा मुख्यमन्त्री नियुक्त गरेकी हुन्।

पोखरेल संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन्। योसँगै नेपाली कांग्रेसको तर्फबाट मुख्यमन्त्री बन्ने पहिलो व्यक्ति नेपाली बनेका छन्।

पृथ्वीसुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि नेपाली बहुमतको आधारमा मुख्यमन्त्री बनेका हुन्। नेपाली मुख्यमन्त्री भएसँगै केन्द्रमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीका गतिविधि र पार्टीभित्रको द्वन्द्वको पहिलो प्रहार गण्डकी प्रदेशबाट सुरु भएको देखिन्छ। प्रदेश सरकारमा प्रभावकारी काम गर्दै आएको भनेर चौतर्फी प्रशंसा हुँदै आएका गुरुङ पहिलो पटक केन्द्रीय राजनीतिको सिकार भएका हुन्।

पार्टीभित्रको आन्तरिक द्वन्द्व र प्रधानमन्त्री ओलीले पटकपटक प्रतिनिधिसभा विघटन गर्दाको परिणामको रुपमा गुरुङको बहिर्गमनलाई हेरिएको छ। यसको असर केन्द्रदेखि अन्य प्रदेशसमा समेत देख्न सकिने अनुमान गरिएको छ।

नेपालीको मुख्यमन्त्रीको यात्रा ?

नेपाली तेस्रो प्रयासमा मुख्यमन्त्री बनेका हुन्। नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता नेपालीले पहिलो पटक वैशाख २ गते औपचारिक रुपमा मुख्यमन्त्रीको रुपमा उम्मेदवारी पेश गरेका थिए।

माओवादी, जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा)को गठबन्धन बनाएर पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदा उनलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरिएको थियो। तर, संसदमा अविश्वासको प्रस्तावमाथि मतदान नहुँदै सभामुख नेत्रनाथ अधिकारीले सांसद बैठक अचानक स्थगित गरे। बैठक स्थगित भएपछि अर्को बैठक नबस्दै मुख्यमन्त्री गुरुङले राजीनामा दिँदा नेपालीको मुख्यमन्त्री बन्ने बाटो बन्द भएको थियो।

गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि नेपाली फेरि मुख्यमन्त्रीको उम्मेदवार बनेका थिए। तर, जनमोर्चाको निर्णयविरुद्ध सांसद कृष्ण थापाले मुख्यमन्त्रीका उम्मेदवार नेपालीलाई आफ्नो समर्थन नरहेको भन्दै प्रदेश प्रमुखलाई पत्र बुझाएपछि गुरुङ मुख्यमन्त्री नियुक्त हुँदा उनको मुख्यमन्त्री बन्ने दोस्रो प्रयाससमेत असफल भएको थियो।

गुरुङले संवैधानिक व्यवस्था अनुसार बिहीबार संसदबाट विश्वासको मत लिन नसकेपछि नेपालीले शुक्रबार तेस्रो पटक मुख्यमन्त्रीका लागि दाबी गरेका हुन्। यही अन्तिम दाबी अनुसार नेपाली शनिबार मुख्यमन्त्री नियुक्त भएका हुन्। उनको पक्षमा माओवादी, जनमोर्चा र जसपाका ३१ सांसद रहेका छन्। नेपालीलाई निवर्तमान मुख्यमन्त्री गुरुङले फोन गरेर बधाई दिइसकेका छन्। संविधान अनुसार आफूले सहयोग गर्ने प्रतिवद्धतासमेत गुरुङले जनाएका छन्।

२०४८ सालको आम निर्वाचनमा नवलपरासी-४, २०७० सालमा संविधानसभा सदस्य निर्वाचनमा नवलपरासी-३ बाट पराजित भएका नेपाली देश संघीयतामा गएपछि २०७४ सालको प्रदेशसभा निर्वाचनमा नवलपुर-१ (क)बाट निर्वाचित भएका हुन्। यो विजयले उनलाई प्रदेशको मुख्यमन्त्रीसम्म पुर्याएको छ।

७१ वर्षीय नेपाली को हुन् ? 

२००६ सालमा जन्मिएका नेपाली परिवारको माइलो छोरा हुन्।  नेपालीको राजनीतिक केन्द्र नवलपरासी हो। ७१ वर्षीय नेपालीको परिवार नै राजनीतिमा लागेको देखिन्छ। उनका पिता गोवर्द्धन शर्मा राणाविरोधी आन्दोलनमा सहभागी थिए। उनका दाजु रामचन्द्र पोखरेल संविधानसभाका सदस्य हुन् भने उनका भाइ डा. जगदीशचन्द्र पोखरेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन्।

पोखरेलको राजनीतिक चेतना बुबासँगै भारत निर्वासनमा हुँदा अगाडि बढेको देखिन्छ। उनी बुबासँगै सात वर्ष भारत प्रवासमा बसेका थिए। त्यसपछि उनले लामो समय शिक्षण पेशामा बिताए। विद्यार्थी जीवनबाटै राजनीतिमा सहभागी भएका उनी विद्यार्थी जीवनदेखि विभिन्न राजनीतिक आन्दोलनमा उनले पटकपटक जेलमा बस्नु परेको थियो। पृथ्वीसुब्बा गुरुङले प्रदेशमा गरेका कामको निरन्तरता र नयाँ गरेर देखाउने चुनौती नेपालीमाथि थपिएको छ। संसदमा प्रभावशाली विपक्षी दलको सामना गर्दै गठबन्धन सरकार चलाउनुपर्ने चुनौतीपूर्ण अवस्थालाई चिर्न नेपालीले मिहेनत गर्नुपर्ने देखिन्छ।  अन्नपुर्णपोष्ट बाट ।

समाचार वर्गहरू