सुर्खेत– कर्णाली प्रदेशका डाक्टर र स्वास्थ्यकर्मीले प्रोत्साहन भत्ता पाउने भएका छन् । यही माघ १ गतेदेखि लागू हुने गरी कर्णाली प्रदेश सरकारले भौगोलिक विकटताका आधारमा डाक्टर र स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको गरिसकेको छ । प्रदेश सरकारले स्वास्थ्यबाहेक अन्य क्षेत्रका कर्मचारीलाई पनि भौगोलिक विकटताका आधारमा प्रोत्साहन भत्ता दिने भएको हो ।
कर्णालीका विकट तथा दुर्गम क्षेत्रमा कर्मचारी जान नचाहेपछि प्रदेश सरकारले डाक्टर र स्वास्थ्यकर्मीलाई दुई भागमा वर्गिकरण गरेर भत्ता दिने निर्णय गरेको हो । अब डाक्टर र स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता मात्रै उपलब्ध गराउने नभई प्रदेश सरकारले उनीहरुको परिवारलाई समेत स्वास्थ्य बिमा गरिदिने भएको छ ।
बिमाका लागि प्रदेश सरकारले नै प्रिमियम रकम भुक्तानी गर्ने व्यवस्था गरेको छ । यसका लागि प्रदेशले १२ करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारले निजी अस्पताल, क्लिनिक वा स्वास्थ्य संस्थामा समेत काम गर्ने डाक्टर तथा कर्मचारीलाई भने यस्तो भत्ता र सुविधा दिने छैन् ।
कहाँ काम गर्ने डाक्टरले मासिक कति भत्ता पाउँछन् ?
११ औं तहका चिकित्सक –
सुर्खेतमा कार्यरतलाई तलबको ७५ प्रतिशत,
सल्यान, रुकुम पश्चिम, जाजरकोट र दैलेखमा कार्यरतलाई तलबको ९० प्रतिशत,
कालीकोट र जुम्लामा कार्यरतलाई तलबको १०० प्रतिशत,
मुगु, डोल्पा र हुम्लामा कार्यरतलाई तलबको १ सय ३५ प्रतिशत ।
नवौं र दसौं तहका चिकित्सक
सुर्खेतमा कार्यरतलाई तलबको ७५ प्रतिशत,
सल्यान, रुकुम पश्चिम, जाजरकोट र दैलेखमा कार्यरतलाई तलबको ८० प्रतिशत,
कालीकोट र जुम्लामा कार्यरतलाई तलबको मासिक ९० प्रतिशत,
मुगु, डोल्पा र हुम्लामा कार्यरतलाई तलबको १ सय २५ प्रतिशत ।
आठौं तहका चिकित्सक
सुर्खेतमा कार्यरतलाई तलबको ५० प्रतिशत,
सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेखमा कार्यरतलाई तलबको ६० प्रतिशत,
कालीकोट र जुम्लामा कार्यरतलाई तलबको मासिक ७५ प्रतिशत,
मुगु, डोल्पा र हुम्लामा कार्यरतलाई तलबको १०० प्रतिशत ।
कहाँ काम गर्ने स्वास्थ्यकर्मीले मासिक कति भत्ता पाउँछन् ?
सुर्खेतमा मासिक चार हजार रुपैयाँ,
सल्यान, रुकुम पश्चिम, जाजरकोट र दैलेखमा मासिक ६ हजार रुपैयाँ,
कालीकोट र जुम्लामा मासिक ८ हजार रुपैयाँ,
मुगु, डोल्पा र हुम्लामा मासिक १० हजार रुपैयाँ ।
– स्वास्थ्य खबरको सहयोगमा