(वीरेन्द्रनगर) – कर्णाली प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारी सुविधाको गाडी फिर्ता गरेका छन् । प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा पाएको गाडी सुविधा नेता शाहीले बिहिवार फिर्ता गरेका हुन् । उनले कर्णालीका गाडी सुविधा पाएका अन्य पदाधिकारीलाई पनि कर्णालीको अवस्था मनन् गर्दै फिर्ता गर्न आग्रह गरेका छन् ।
बिहीबारको प्रदेशसभा बैठकमा गाडी सुविधा र प्रदेशको अवस्थाबारे बोलेपछि आफूलाई सुविधाबापत दिइएको स्कार्पियो गाडीको साँचो संसद सचिवालयलाई बुझाइएको उनका स्वकीय सचिव राजबहादुर रोकायाले बताए । नेता शाहीले प्रदेशसभा बैठकमा आर्थिक मितव्ययिताबारे बारे बोल्दै भनेका थिए, ‘हामी गरिब प्रदेश भन्ने, अनि महँगा–महँगा गाडी चढ्ने, यो राम्रो भएन, त्यसैले मैले कानुनद्वारा पाएको गाडी फिर्ता गर्ने निर्णय गरेको हुँ ।’ यति बोलेपछि आफूलाई सुविधाबापत दिइएको स्कार्पियो गाडीको साँचो संसद सचिवालयलाई बुझाइएको उनका स्वकीय सचिव राजबहादुर रोकायाले बताए
प्रदेश सभा बैठकमा बोल्दै नेता शाहीले भने ‘मन्त्रीहरुलाई गाडी नचढ्नुस् भनेर म भन्दिनँ, तर महँगा फोरह्वीलर स्कार्पियो चढ्ने हाम्रो हैसियत छैन,’ उनले भने, ‘मन्त्री र सभामुखलाई मारुती ८ सयभन्दा माथिको गाडी नदिऔं । साथै सुबिधा दिनैपर्ने भए एक-एक वटा मोटरसाइकल दिन समेत शाहिले अनुरोध गरे ।
‘जनता भोकभोकै मरिरहेका छन्, बत्ती जोड्न नसकेर अँध्यारोमा बसिरहेका छन्,’ उनले भने, ‘हामी भने एकातिर गरिब प्रदेश भन्ने, अर्कोतिर विलासी सुविधा लिइरहेका छौं, सभामुखलाई मेरो आग्रह छ– ‘भोलिबाटै प्रदेशसभामा फ्यान जोडौं र अधिक बिजुली खर्च हुने एसिहरु झिकौं।’ मन्त्री र मन्त्रालयका सोफामा समेत मापदण्ड निर्धारण गर्नुपर्ने उनले बताए ।
२०७५ मंसिरमा प्रदेश सभाले पारित गरेको ऐनमा प्रदेशसभाका सभामुख, उपसभामुख, विपक्षी दलका नेता, दलको प्रमुख सचेतक, सत्ता पक्षको सचेतक र प्रदेश सभाका विभिन्न समितिका अध्यक्षलाई गाडी सुविधा दिइएको छ ।