कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि पीसीआर परीक्षण सुरु

22

(काठमाडौं) – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि आरटी पीसीआर विधिबाट कोरोना परीक्षण सुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले सोमबारबाट प्रतिष्ठानमा पीसीआर मेसिनबाट कोरोना परीक्षण सुरु भएको बताए ।

योसँगै देशभर १८ प्रयोगशालामा पीसीआर विधिबाट नमूना परीक्षण सुरु भएको छ । कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ८२ जनाको नमूना परीक्षण भएको छ । नेपालमा हालसम्म पीसीआर र आरडीटीबाट ६६ हजार ७७ जनाको नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१३ हजार ८ सय ५० जनाको पिसिआर र ५२ हजार २ सय २७ जनाको आरडीटीबाट परीक्षण भएको प्रवक्ता देवकोटाले बताए । मन्त्रालयका अनुसार अहिलेसम्म प्रदेश १ मा ६ हजार १ सय २२, प्रदेश २ मा ५ हजार ७ सय ७८, बागमतीमा ८ हजार ९ सय ४०, गण्डकीमा ६ हजार ७५, प्रदेश ५ मा ५ हजार १ सय ९३, कर्णालीमा ५ हजार ८ सय ७६ र सुदूरपश्चिम प्रदेशमा १४ हजार २ सय ४४ जनाको आरडीटी विधिबाट परीक्षण भएको छ ।

प्रदेश १ मा ३१, प्रदेश २ मा १३, बागमतीमा ७, गण्डकीमा २, प्रदेश ५ मा २४ र सुदूरपश्चि प्रदेशमा ५ जना संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिए । कोरोनाको आशंकामा काठमाडौं उपत्यका भित्र २ र बाहिर १ सय १८ गरी कुल १ सय २० जना अस्पतालको आइसोलेसनमा छन् ।

मुलुकभर अहिले २१ हजार ९९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । मंगलबार बिहान नेपालगञ्जमा सात जना थपिएसँगै संक्रमितको संख्या ८२ पुगेको छ । संक्रमितमध्ये ६१ पुरुष र २१ महिला छन् । १६ जना उपचारपछि निको भइसकेका छन् भने ६६ जना उपचारको क्रममा छन् ।

समाचार वर्गहरू