काठमाडौं – बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई कोरोना भाइरसको संक्रमण पुष्टि भए त्यसको सम्पूर्ण खर्ब सम्बन्धित बैंकले नै बेहोर्नुपर्ने भएको छ ।
राष्ट्र बैंकले आफ्नै खर्चमा बैंक तथा वित्तीय संस्थाले कोभिड–१९ संक्रमण भएका र उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षण गर्न निर्देशन दिएको हो ।
नेपाल राष्ट्र बैंकले बिहीबार १४ बुँदे परिपत्र जारी गर्दै बैंक तथा वित्तीय क्षेत्रलाई कर्मचारीमा संक्रमण देखिए सम्पूर्ण खर्च बेहोर्नु जनाएको छ ।
कोरोनाको संक्रमण दिनानुदिन बढ्दै गएकाले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी र सेवाग्राहीको स्वास्थ्यलाई उच्च प्राथमकितामा राखेर बैंकिङ सेवा प्रदान गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।
बैंकले ‘कोभिड–१९ बाट सङ्क्रमित कर्मचारीलाई व्यवस्थितरुपमा घर, अस्पताल वा होटलमा सुरक्षित आइसोलेशनमा राख्न र सङ्क्रमितको सम्पर्कमा आएकाको ‘कन्टयाक ट्रेसिङ’ गर्न भनेको छ । सङ्क्रमित कर्मचारीलाई आवश्यकतानुसार घर वा होटलमा सुरक्षित तरिकाले राख्न र त्यसको सम्पूर्ण खर्चसमेत बैंक तथा वित्तीय संस्थाले नै व्यहोर्नुपर्ने निर्देशनमा उल्लेख छ ।
संक्रमित कर्मचारीलाई अस्पतालमा, घरमा वा होटल जहाँ आइसोलेसनमा राखे पनि बैंकलाई नै खर्च गर्न राष्ट्र बैंकले भनेको छ । कोरोना लागेका कर्मचारीको कन्ट्याक्ट ट्रेसिङमा आएका कर्मचारीहरुलाई पनि बैंककै खर्चमा क्वारेनटाइनमा राख्न समेत भनिएको छ ।
२०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला र काठमाडौँ उपत्यकाभित्रका बैंक तथा वित्तीय संस्थाले ५० प्रतिशत कर्मचारीलाई आलोपालो प्रणालीबाट कार्यसम्पादन गराउन समेत निर्देशन जारी गरेको छ ।