काठमाडौं – कर्मचारी अभावका कारण जिल्ला प्रशासन कार्यालय रसुवाले प्रदान गर्दै आएको नागरिकता वितरण आजदेखि स्थगन गरेको छ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आसन्न निर्वाचनमा आवश्यक कर्मचारी खटाइएको र कार्यालयमा कर्मचारीको अभाव भएका कारण निर्वाचनसम्बन्धी कामबाहेक अन्य सबै प्रकारका सेवा बन्द गरिएको जनाइएको छ।
प्रशासनले सार्वजनिक सूचनामार्फत नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र प्रदान, संस्था दर्ता एवं नवीकरणलगायतका सबै सेवा आजदेखि आगामी मंसिर ४ गतेसम्म बन्द भएको जनाएको छ।
निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न गर्न स्थानीय प्रशासन अह्रोरात्र तल्लीन रहेको र निर्वाचन कार्य सम्पन्न नभएसम्मका लागि जिल्लाभर मदिरा बिक्रीमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए।