काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यसम्पादन गर्दा कसैको भय र त्रासमा नपर्न आग्रह गरेका छन्।
प्रधानमन्त्री कार्यालयमा सोमबार भएको सचिवहरूको नियमित बैठकमा प्रधानमन्त्रीले कानून बमोजिम काम गर्न कसैले डराउनु नपर्ने बताएका हुन्।
‘कार्यसम्पादन गर्दा कसैको भय र त्रासमा नपर्नु होला, कानून बमोजिम काम गर्न डराउनु पर्दैन,’ प्रधानमन्त्रीले भने ‘असल नियतले काम गरेको विषयमा निर्दोष मानिसलाई कही कतै समस्या भएमा त्यसको जिम्मेवारी मैले लिनेछु।’
नयाँ समीकरणको सरकार थप ऊर्जा, नयाँ सोच, उद्देश्य, कार्यसूची र कार्ययोजनाका साथ आएको बताउँदै प्रधानमन्त्रीले भने ‘राजनीति र प्रशासक सरकारका अभिन्न अङ्ग हुन्, हालसम्म यहाँहरूबाट सहयोग प्राप्त हुँदै आएको छ। अझै थप जाँगर र जोसका साथ काम गर्नु हुनेछ भन्ने विश्वास लिएको छु।’
लामो समय राष्ट्र सेवामा संलग्न भइ सचिवपदबाट सेवा निवृत्त भएका कर्मचारीको आज विदाई गरिएको छ। यस आर्थिक वर्षमा सेवा निवृत्त भएका १२ सचिवलाई दोसल्ला ओडाएर सम्मान गरे।
सेवा निवृत्त हुने सचिवहरूमा यादवप्रसाद कोइराला, रामप्रसाद थपलिया, धनराज ज्ञवाली, गोपीकृष्ण खनाल, डा. दामोदर रेग्मी, दिनेशकुमार घिमिरे, देवकुमारी गुरागाइँ, केवलप्रसाद भण्डारीलगायत छन्।