कसैको राजनीति जोगाउनका निम्ति मैले बलि चढ्नुपर्ने ? – रवि लामिछाने

59
फाइल फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफुमाथि राजनीतिक प्रतिरोध साध्न खोजेको आरोप लगाएका छन्।

प्रहरीले पक्राउ गर्ने संकेत पाएपछि आइतबार राति पार्टीका नेताहरूसँगको छलफलपछि पार्टी कार्यालय बनस्थलीमा समर्थकलाई सम्बोधन गर्दै लामिछानेले यस्तो आरोप लगाएका हुन्।

कांग्रेसका महामन्त्री गगन थापाप्रति लक्षित गर्दै लामिछानेले भने, ‘कसैको राजनीति जोगाउनका निम्ति मैले बलि चढ्नुपर्ने ? कसैको राजनीति बचाइदिनका लागि मैले प्रतिशोधको सामना गर्नुपर्ने ?’

लामिछाने उपप्रधान मन्त्री तथा गृहमन्त्री रहँदा कांग्रेस महामन्त्री थापाले सहकारी ठगीमा संलग्न रहेको भन्दै संसदीय छानबिन माग गर्दै निवेदन दिएर ऋण लिएको प्रमाण आफूसँग रहेको बताएका थिए। त्यसपश्चात लामिछानेले आफूले ऋण लिएको प्रमाणित भए राजनीति छोड्ने र प्रमाणित नभए गगन थापाले राजनीति छाड्ने कि नछाड्ने भन्दै प्रश्न गरेका थिए। संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएपछि दुई नेताबीचको टक्कर पुन सतहमा आएको हो।

उनले आफूलाई पक्राउ गर्ने विषयमा बुझ्दा पक्राउ गर्ने कुनै तयार नभएको जानकारी पाएपनि सरकारको कुनै भरोसा नभएकाले अलर्टमा बस्ने कार्यकर्तालाई आग्रह गरे।

‘म अभिमन्यु होइन, यो चक्रबाट निस्कन पनि आउँछ,’ लामिछानेले सम्बोधनमा भने,‘म भागेको छैन, लुकेको छैन। जुन ट्रायल म माथि गर्न खोजियो, मैले बुझेको छैन।’ पुराना दलले आफू एक व्यक्तिलाई तर्साउन खोजेको लामिछानेले आरोप लगाए। ‘कसैको राजनीति बचाइदिन मैले बलि चढिदिनुपर्ने ?’ उनको आक्रोश थियो– यो ट्रायल गरेर मलाई तर्साउन सक्नुहुन्न। सक्दै सक्नुहुन्न।’

 

समाचार वर्गहरू