काठमाडौं – प्रतिनिधिसभाको बैठक आज दिउँसो २ बजेसम्मलाई सरेको छ। बिहान ११ बजे बोलाइएको बैठक २ बजेलाई सारिएको संसद् सचिवालयले जनाएको छ।
सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठन गर्न सत्तापक्ष सहमत भएपछि कांग्रेस संसद् खुलाउन लचक भएको छ।
यद्यपि, छानबिन समिति गठनसम्बन्धी कार्यदलको टिओआरमा सहमति नभएसम्म बैठक नचलाउन कांग्रेसले आग्रह गरेपछि बैठक सारिएको हो।
टिओआर तय गर्न बसेको कार्यदलको बैठकमा कांग्रेसले थप आन्तरिक छलफल गर्नुपर्ने भन्दै समय मागेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
‘मिलनविन्दुको नजिक–नजिक पुगेका छौँ । कांग्रेसले थप २० मिनेट समय मागेको छ। आन्तरिक छलफल सकेर कांग्रेसका प्रतिनिधि आएपछि टिओआर टुंग्याउँछौँ,’ प्रमुख सचेतक बर्तौलाले भने।
यसैबीच, थप समय मागेको कांग्रेस आन्तरिक छलफलमा जुटेको छ। कांग्रेस सांसदहरू संसदीय दलको कार्यालयमा छलफल गरिरहेका छन्।
