काठमाडौं – कांग्रेसले २७ मंसिरभित्र महाधिवेशन सम्पन्न नगरे निर्वाचन आयोगले सिफारिस गरेको मिति ७ देखि १० माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा भाग लिन नपाउने भएको छ ।
त्यसबाट जोगिनका लागि पनि अहिलेकै कार्यतालिकामा महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यतामा कांग्रेस छ । निर्वाचन आयोगले ३० देखि ४५ दिनसम्मको समय दिएर दल दर्ताको सूचना जारी गर्छ । त्यसका लागि समयमै अधिवेशन सम्पन्न भएको जानकारी निर्वाचन आयोगलाई गराइएको हुनुपर्छ ।
निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले दल दर्ताभन्दा अगाडि महाधिवेशन भइसकेको हुनुपर्ने र कांग्रेसले प्रक्रिया सुरु गरेको बारेमा आयोगलाई जानकारी गराएको बताए ।
‘निर्वाचन आयोगले निर्वाचनको करिब डेढ महिनाअगाडि (३० देखि ४५ दिनसम्मको समय) दल दर्ताको सूचना निकाल्छ । नेपाली कांग्रेसले महाधिवेशन सुरु भएको भनेर आयोगलाई जानकारी गराएको छ । दल दर्ताअगाडि महाधिवेशन भइसक्नुपर्छ,’ उनले भने, ‘आयोगले ७ देखि १० माघसम्म राष्ट्रिय सभाको निर्वाचनका लागि सिफारिस गरेको छ, निर्णय भइसकेको छैन ।’ उनले दल दर्ताको लागि पुसको पहिलो सातासम्मको म्याद हुन सक्ने बताए ।
कांग्रेसले निर्वाचन आयोगलाई कोरोना महामारीको कारण देखाउँदै समयमा नै महाधिवेशन सम्पन्न हुन नसकेको भनेर २३ भदौमा जानकारी गराएको थियो ।