काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले लिएका नीतिका कारण मुलुकमा बृहत् परिवर्तन सम्भव भएको बताएका छन् ।
केन्द्रीय कार्यसमितिको बैठकमा सोमबार बाेल्दै उनले कांग्रेसले गरेका राम्रा काम जनतालाई बुझाएर अघि बढ्नुपर्ने बताए ।
मुलुकमा हाल ठूला भ्रष्टाचारका फाइल खुलेको बताउँदै महामन्त्री शर्माले त्यसमा व्यक्ति को पर्छ भन्ने दोस्रो कुरा भएको उल्लेख गरे । कांग्रेसको तत्कालीन सरकारकै पालामा ०५८ सालमा भ्रष्टाचार निवारण ऐन बनेको, कांग्रेस नेतृत्वकै सरकारले मुलुकी अपराध संहिता बनाएर लागू गरेको स्मरण गरे ।
कांग्रेस रूपान्तरणका नाममा गरिएका कार्यक्रमबाट आएका महत्त्वपूर्ण सुझाव ग्रहण गर्नुपर्ने धारणा व्यक्त गर्दै उनले राजनीतिमा ‘एज’ होइन ‘एजेण्डा’ महत्त्वपूर्ण हुने र ‘एक्जिट पोलिसी’ बनाउनुपर्ने बताए ।
बैठकमा आएका प्रश्न र गुनासोलाई आत्मसात् गरेर अघि बढ्नुपर्ने महामन्त्री शर्माले धारणा व्यक्त गरे । उनले प्रत्येक शुक्रबार सभापति र महामन्त्रीहरूले पार्टी कार्यालयमा नियमित भेटघाट गर्ने उल्लेख गरे ।
राज्यले नै राष्ट्रपति १ पटक मात्र, प्रधानमन्त्री २ पटक मात्र, मन्त्री ३ पटक मात्र र सांसद ४ पटक मात्र हुन पाउने विधि बनाउनुपर्ने महामन्त्री शर्माकाे धारणा छ ।