कांग्रेसका चार नेताको राष्ट्रियसभा अध्यक्षमा दाबी, दाबेदार मध्ये सिटौला अगाडी

5

काठमाडौं – आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रियसभा अध्यक्ष पदमा नेपाली कांग्रेसबाट चार जनाले दाबी गरेका छन्।

काँग्रेस नेताहरू कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, फरमुल्ला मन्सुर र आनन्दप्रसाद ढुंगानाले राष्ट्रियसभा अध्यक्ष पदमा दाबी गरेका हुन्।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत २० जना सदस्यको पदावधि फागुन २० मा सकिँदैछ। निर्वाचन आयोगले सार्वजनिक गरेको राष्ट्रियसभा सदस्यको चुनावी कार्यक्रमअनुसार माघ ११ गते मतदान हुनेछ। सदस्यको चुनावपछि मात्रै अध्यक्ष चुन्ने प्रक्रिया सुरु हुनेछ।

संसद्को ठूलो पार्टी भएकाले कांग्रेसले आफूले अध्यक्ष पाउनुपर्ने दाबी गरिरहेको छ। त्यसमा गठबन्धन सरकारमा आबद्ध दल माओवादी केन्द्र र एकीकृत समाजवादी सकारात्मक देखिएपछि नेताहरू दौडधुपमा लागेका हुन्।

राष्ट्रियसभा अध्यक्षका दाबेदारमध्येका एक नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिटौला पूर्वउपप्रधानमन्त्री पनि हुन्। कुनै बेला पार्टीमा गुटेको नेतृत्व गर्दै आएका सिटौला अहिले त्यति सक्रिय छैनन्।

यसैगरी राष्ट्रियसभा अध्यक्षका लागि कांग्रेसबाट दाबी गर्ने अर्का नेता गोपालमान श्रेष्ठ सभापति देउवालाई लामो समयदेखि साथ दिँदै आएका नेता हुन्। उनी २०७९ सालको चुनावमा कांग्रेसको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ केन्द्रीय परिचालन समितिका संयोजक थिए। नेपाली कांग्रेस प्रजातान्त्रिक छँदा सभापति देउवालाई शाही कालमा गिरफ्तार गरिएका बेला श्रेष्ठ कार्यवाहक सभापति थिए।

सभापतिको चाहना सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाएर पार्टीमा सन्तुलन मिलाउने भन्ने छ। तर अन्य नेताहरू सिटौलालाई अध्यक्ष बनाउने पक्षमा हुनुहुन्न।’ सिटौलालाई अध्यक्ष बनाउन पाएमा कांग्रेसमा रहेको उनको गुट झन् कमजोर हुने बुझाइ देउवाको रहेको एक नेताले बताए।

डा. शेखर कोइराला समूह भने मन्सुरलाई राष्ट्रियसभा अध्यक्ष बनाउनुपर्ने पक्षमा छ। मुस्लिम समुदायका भएकाले पनि उनलाई अघि बढाउनुपर्ने प्रस्ताव गरिएको कोइराला निकट एक नेताले बताए।

यसैगरी राष्ट्रियसभा अध्यक्षका लागि दाबी गर्ने आनन्दप्रसाद ढुंगाना कांग्रेसका पुराना नेता हुन्। श्रेष्ठ र ढुंगानाले २०७९ सालमा चुनाव लडेका थिएनन्। उनीहरू दुवैजना समानुपातिक सूचीमा थिए।

प्रदेशगत आधारमा फागुन २० गते पदावधि सकिनेमा कोशीका २, मधेशका २, बागमतीका ४, गण्डकीका ३, लुम्बिनीका २, कर्णालीका ३, सुदूरपश्चिमका ३ छन्। त्यस्तै स्वतन्त्र सांसद डा. खिमलाल देवकोटा र राष्ट्रपतिबाट मनोनीत डा. विमला राई पौड्यालको पदावधि पनि फागुन २० गते सकिँदैछ। १९ सदस्यका लागि चुनाव हुनेछ भने रिक्त हुने मनोनीत एक कोटामा राष्ट्रपतिबाट मनोनयन गरिनेछ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू