काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न छुटेका केही जिल्ला र क्षेत्रका लागि समय थप गर्दै नयाँ कार्यतालिका सार्वजनिक गरेको छ।
सदस्यता व्यवस्थापन केन्द्रीय समितिको शनिबार बसेको बैठकले भौगोलिक कठिनाइ र प्राविधिक समस्यालाई ध्यानमा राख्दै केही जिल्लामा असार ७ गतेसम्म सदस्यता अद्यावधिक गर्न सकिने निर्णय गरेको हो।
निर्णयअनुसार इन्टरनेट पहुँच न्यून भएका उच्च हिमाली जिल्लाहरू, विकट पहाडी क्षेत्रका केही पालिका तथा बारा र खोटाङ जिल्लामा असार ७ गतेसम्म सदस्यता अद्यावधिक गर्न पाइनेछ। विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूका लागि भने यो अवधि असार १० गतेसम्म कायम गरिएको छ।
कांग्रेसका अनुसार हालसम्म कुल ७ लाख ८२ हजार २०९ क्रियाशील सदस्यमध्ये ६ लाख ८७ हजार ९३१ जनाको विवरण डिजिटल प्रणालीमा अद्यावधिक भइसकेको छ। तीमध्ये ५ लाख ३८ हजार ६२२ जनाले एनसीआईडी प्राप्त गरिसकेका छन् भने १ लाख ४९ हजार ३०९ जनाको विवरण वडा तहबाट अन्तिम अद्यावधिक प्रक्रियामा रहेको बताइएको छ।
अनलाइन प्रणालीमा प्रविष्ट हुन बाँकी रहेका सदस्यता फारामहरू असार ५ गतेभित्र अनुमोदन गरिसक्न सम्बन्धित वडा समितिलाई निर्देशन दिइएको छ।
त्यसैगरी, वडा तहबाट अद्यावधिक हुन छुटेका सदस्यहरूले प्रमाणसहित असार २० गतेसम्म केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

