विराटनगर – प्रदेश नं १ सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै अब बन्ने सरकारमा कांग्रेसले नेकपाको कुन समूहलाई समर्थन गर्ला भन्ने चर्चा सुरु भएको छ। ओली समूहका मुख्यमन्त्री शेरधनराई समुह र प्रस्ताव दर्ता गर्ने दाहाल–नेपाल समूह दुवैसँग सरकार बनाउनकालागी आवश्यक बहुमत नपुग्ने भएपछि कांग्रेस निर्णायक बनेको हो।
प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनुअघि नै मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते बोलाउने निर्णय गरेको छ। सोही बैठकले बहुमत सदस्यको समर्थनमा सरकार निर्माण गर्ने भएकाले कांग्रेसलाई आफ्नो पक्षमा पार्न दुवै समूह सक्रिय छन्।
प्रदेशसभामा ९३ सांसदमध्ये कांग्रेसका तर्फबाट २१ सांसद छन्। नेकपाका ६७ सांसदमध्ये मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा ३७ सांसदले हस्ताक्षर गरेका थिए। बहुमत सदस्यका लागि कांग्रेसलाई फकाउन र सांसद खोसाखोस गर्नमा दुवै समूह सक्रिय रुपमा लागी परेका छन् ।
कांग्रेसले भने हालसम्म कुनै औपचारिक समर्थन वा निर्णय गरेको छैन। यो विषयमा अधिकांश कांग्रेस नेता केन्द्रको निर्णय पर्खाइमा रहेको बताउँछन्।
सरकार निर्माणमा कुन समूहलाई सघाउने भन्ने विषयमा कांग्रेसभित्र केन्द्रदेखि प्रदेशसम्मै एकमत देखिँदैन। प्रदेशमा पनि केन्द्रमा जस्तै रामचन्द्र पौडेल–कोइराला पक्ष भने केपी ओलीको निर्णयको विरोधमा छ।